close

एनसेलले ल्यायो ‘भोल्टे’ सेवा, एचडी क्वालिटीमा भ्वाइस कलको अनुभव लिन पाइने

टेकपाना टेकपाना

भदौ २०, २०७९ १८:४७

एनसेलले ल्यायो ‘भोल्टे’ सेवा, एचडी क्वालिटीमा भ्वाइस कलको अनुभव लिन पाइने

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडले भाेल्टे सेवा सुरू गरेकाे छ । याेसँगै कम्पनीका ग्राहकले अब स्पष्ट सुनिने हाई डेफिनिसन (एचडी) भ्वाइस कल सेवाबाट फाइदा लिनसक्ने भएका छन् ।

एनसेलले आफ्नो भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवा ‘एनसेल भोल्टे’ तीन ब्राण्डका केही मोबाइल सेटबाट व्यावसायिक रुपमा दिन सुरु गरेको छ ।

दूरसञ्चार सेवाका क्षेत्रमा भोल्टे एक नयाँ प्रविधि हो, जसले उच्च गुणस्तरको हाई डेफिनिसन र छिटो कनेक्ट हुने भ्वाइस कल सेवा प्रदान गर्दछ ।

भोल्टेमा फोरजी नेटवर्क प्रयोग गरी गुणस्तरीय भ्वाइस कल गर्न सकिन्छ ।

ग्राहकले अब फोरजी नेटवर्कमा रही फोन गर्दा थ्रीजी नेटवर्कमा नझरी हाल लाग्दै आएको सामान्य कल शुल्कमा नै उच्च गुणस्तरको भ्वाइस कलका साथै डेटा सेवाको एकै साथ फाइदा लिन सक्छन् ।

भोल्टे सेवाको सफलतापूर्वक सफ्ट लन्च सम्पन्न गरी एनसेलले भदौ १६ गते बिहीबारदेखि व्यावसायिक रुपमा भोल्टे सेवाको सुरुवात गरेको हो ।

हालको सुरुवाती चरणमा ग्राहकहरुले सामसङका ग्यालेक्सी ए५१, ग्यालेक्सी ए३३ र ग्यालेक्सी ए५३, भिभोको वाई५५, भी२३ र ह्वावेको नोभा ३आई, वाई९ प्राइम २०१९ मा यो भोल्टे सेवा एक्टिभेट गरी यसको फाइदा लिन सक्छन् ।

एनसेलको फोरजी सिम अर्थात् यूसिम भएका र माथि उल्लेख गरिएका मोबाइल सेट प्रयोग गर्ने ग्राहकहरुले एस्ट्रिक्स१७२०१ह्यास डायल गरी एनसेल भोल्टे सेवा सुचारु गर्न सक्छन् ।

यो सेवा सुचारु गरेसँगै ग्राहकले एनसेल नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट भोल्टे टक टाइम बोनस स्वरुप प्राप्त गर्न योग्य हुन्छन् । प्राप्त बोनस भोल्टे टक टाइम २८ दिनको लागि मान्य रहन्छ ।

उल्लेखित मोबाइल सेटहरु प्रयोग गर्ने ग्राहकले मोबाइलको सफ्टवेयरको पछिल्लो संस्करण भने आफ्नो मोबाइलमा इन्स्टल गरेको हुनुपर्दछ ।

व्यावसायिक रुपमा भोल्टे सेवा सञ्चालनमा ल्याई आफ्ना ग्राहकलाई नयाँ प्रविधिमार्फत यसका लाभ प्रदान गर्न पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ ।

यो सेवा देशभर धेरै भन्दा धेरै ग्राहकमाझ विस्तार गर्न भोल्टे चल्ने ब्राण्ड र मोबाइल सेटका मोडलहरु थप गर्दै जाने पनि एनसेलले जनाएको छ ।

एनसेलको फोरजी नेटवर्क उपलब्ध रहेका नेपालभरका सबै एनसेल ग्राहकले भोल्टे सेवाको फाइदा लिन सक्छन् ।

ग्राहकले यो सेवाबाट लाभ लिन आफ्नो भोल्टे चलाउन योग्य मोबाइल सेटमा फोरजी सेटिङ अन गर्नुपर्ने हुन्छ र फोरजी नेटवर्कमा रहेको हुनुपर्ने जनाइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३