close

कस्तो छ वर्ल्डलिङ्कको जागिर ?

टेकपाना टेकपाना

भदौ २०, २०७९

कस्तो छ वर्ल्डलिङ्कको जागिर ?

नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी रोजगारीका लागि समेत धेरैको आकर्षणको विषय बन्न सक्छ । प्रालिबाट लिमिटेड बनिसकेको यो कम्पनीले आईपीओ जारी गर्नेसम्मको योजना बनाइरहेको छ । यसैबीच हामीले कम्पनीले उपलब्ध गराइरहेको रोजगारी, कर्मचारीको तलब तथा सेवा सुविधा, भर्ना प्रक्रिया, बजारका चुनौति लगायतका विषयमा वर्ल्डलिङ्कका मानव संसाधन विभाग प्रमुख सुरज श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंश ।  

अहिले वर्ल्डलिङ्कले कुन तहमा कति जनालाई रोजगारी दिइरहेको छ ?

समग्रमा आजको दिनमा हामीसँग पाँच हजार २६० जना कर्मचारी हुनुहुन्छ । यो सीईओसम्मका सबै तहको जनशक्ति हो । यसमा बोर्डलाई भने समावेश गरेका छैनौँ । सबैभन्दा बढी जनशक्ति हाम्रो ‘फिल्ड अटेन्डेन्ट’मा छ ।

त्यसपछि सेल्समा धेरै सङ्ख्यामा कर्मचारीहरू छन् । यसरी फिल्ड अटेन्डेन्ट र सेल्समा मात्रै हाम्रो कूल कर्मचारी मध्ये ५० प्रतिशत छ । बाँकी ५० प्रतिशतमा एचआर, फाइनान्स, व्यवस्थापन, प्राविधिक लगायतका छन् । 

अहिले त कर्मचारीहरू आउटसोर्स गर्ने अभ्यास पनि छ । वर्ल्डलिङ्कमा चाहिँ यसको अभ्यास कत्तिको छ ? 

पाँच हजार २६० जना जनशक्ति हाम्रो आउटसोर्स सहितकै हो । यसमा ७० प्रतिशत जति आउटसोर्सिङ नै हुन्छ भने बाँकी ३० प्रतिशत कम्पनी भित्रकै हुन्छन् । हामी इन्फोटेक नामक मानव संसाधन सम्बन्धी कम्पनीबाट आवश्यक कर्मचारी आउटसोर्समा लिने गर्छौँ । 

कम्पनीमा कर्मचारीहरूको पारिश्रमिकको अवस्था कस्तो छ ? 

न्यूनतम पारिश्रमिक हामीले पनि आत्मसाथ गर्नैपर्छ । त्यहाँबाट सुरु भएर तहगत रुपमा बढ्दै जान्छ । हामी पारिश्रमिकमा मात्रै केन्द्रित छैनौँ । त्यससँगै अन्य लाभ तथा सेवा सुविधाका कुराहरू पनि दिइरहेका हुन्छौँ ।

पारिश्रमिकको स्केल हेरेर कर्मचारीहरू कम्पनीमा जोडिएका हुँदैनन् । सुरुवाती आवद्धतामा उहाँहरूले कम्पनीसँगको सम्बद्धता र प्राप्त गर्नसक्ने अनुभवलाई बढी प्राथमिकतामा राखेको जस्तो देखिन्छ । जोडिएको केही वर्षपछि अथवा भनौँ आवश्यक सीप सिकिसकेपछि मात्रै उहाँहरूको ध्यान पारिश्रमिक तथा सेवा सुविधातिर बढी ध्यान जान्छ । 

कलेजबाट तयार हुने जनशक्तिमा हामीलाई चाहिने सीप पूर्ववत् रूपमा उपलब्ध हुँदैन । सबैको हकमा भन्न नमिले पनि मोटामोटी रूपमा धेरै जसो सीप नभएकै मानिसहरूलाई हामीले भर्ना गरिरहेका हुन्छौँ । त्यसपछि उनीहरूलाई आन्तरिक रूपमा तालिम दिएर इन्टरनेट क्षेत्रमा चाहिने सीप सिकाउँछौँ । 

हामीले अहिले प्रतिस्पर्धी स्तरकै पारिश्रमिक दिइरहेका छौँ । अहिलेलाई सबैभन्दा धेरै पारिश्रमिक र सेवा सुविधा दिइरहेका छौँ भन्न सक्दैनौँ ।  तर हाम्रो ‘पेइङ स्केल’ त्यस्तो नराम्रो चाहिँ छैन । 

हरेक वर्ष न्यूनतम पारिश्रमिकलाई कसरी माथि लैजाने भन्नेमा हाम्रो योजना बनिरहेको हुन्छ । तलब र अन्य सेवा सुविधाको प्याकेजको हिसाबले हामीले काम गरिरहेका छौँ ।

कम्पनीमा आवद्ध हुने बित्तिकै उहाँहरूले न्यूनतम १५ देखि १७ हजार रुपैयाँको बीचमा पाउनुहुन्छ । जब उहाँहरू निश्चित सीप सिक्नुहुन्छ, त्यसपछि इन्सेन्टिभहरू, ओभरटाइम आदि दिन थाल्छौँ । यसमा फिल्ड असिस्टेन्सकै कुरा गर्ने हो भने मासिक २५ हजार रुपैयाँदेखि ३२ हजार रुपैयाँ लैजानुहुन्छ । 

त्यसैगरी सेल्समा काम गर्नेहरूले पनि सुरुमा जोडिँदा १५ देखि १७ हजारकै रेञ्जमा पारिश्रमिक पाउनुहुन्छ । त्यसपछि उहाँहरूलाई पनि हामीले इन्टेन्सिभ सपोर्ट, इन्टेन्सिभ सेल्स भनेर हप्ता दिनको तालिम दिन्छौँ । त्यसपछि उहाँहरूले प्राप्त गर्ने सीपको आधारमा २५ देखि २७ हजार रुपैयाँसम्म पारिश्रमिक पाउन सक्नुहुन्छ । 

यस्ता कर्मचारीहरूलाई हामी इन्टर्न वा ट्रेनी केही भन्दैनौँ । उहाँहरू पेरोलमै आउनुहुन्छ र नियुक्ति पत्र समेत पाउनु हुन्छ । तर सुरुमा कम्पनीमा आवद्ध हुनेहरूबाट त्यस्तो काम पनि अपेक्षा गरिएको हुँदैन र निश्चित टार्गेट समेत दिइएको हुँदैन । 

उहाँहरूको पहिलो चरण भनेको तालिम मात्रै हो । तालिम मान्छे हेरेर हुने भए पनि करिब यसका लागि तीन देखि छ महिनाको अभ्यास हामीले गरिरहेका छौँ । यसरी आवश्यक सीप तथा तालिम प्राप्त गरिसकेपछि चौथो वा सातौँ महिनापछि मात्रै  उहाँहरूलाई निश्चित टार्गेट सहितको जिम्मेवारी दिने काम हुन्छ । 

पारिश्रमिक बाहेक अन्य सेवा सुविधाहरू केके हुन्छ ?

तलब भइनै हाल्यो, त्यसपछि कामको आधारमा इन्सेन्टिभ पनि दिन्छौँ । निश्चित टार्गेट अनुसारको प्रोत्साहन समेत हुन्छ । त्यस बाहेक अतिरिक्त समय (ओभर टाइम) काम गर्दा सरकारले तय गरेभन्दा बढी दरमा त्यसको पारिश्रमिक दिन्छौँ ।

अतिरिक्त समयका लागि सरकारले १.५ गुणा दिनुपर्ने व्यवस्था गरेको छ, तर हामीले दुई गुणा बढी दिन्छौँ । त्यस्तै बिदा अझ बढी पाइन्छ । सामाजिक सुरक्षा कोष लगायतका कानून अनुसार पाउनुपर्ने अन्य सुविधाहरू पनि छन् ।

हरेक कर्मचारीले निःशुल्क इन्टरनेट पाउनु हुन्छ । स्तर र काम हेरेर इन्धन र मोबाइल सञ्चार सुविधा पनि दिने गरेका छौँ ।वर्ल्डलिङ्क सिकाइमा केन्द्रित संस्था हो । जुन स्तरमा आए पनि अर्को काममा जानका लागि हामीले खुला राखेका छौँ ।

तर यसो भन्दै गर्दा आज एउटा काममा आएर भोलि नै अर्को काममा जान चाहिँ पाइँदैन । त्यसका लागि निश्चित समय चाहिँ दिइएको जिम्मेवारीमा रहेर काम गर्नुपर्ने हुन्छ । त्यसमा तीन महिना, छ महिना वा एक वर्षको अवधि राखेका छौँ । त्यसपछि भने कर्मचारी कम्पनी भित्र इच्छाएका जुनसुकै विभागमा जानसक्छन् ।

हामीकहाँ यस्तासम्म उदाहरण छन्, कुनै शाखामा ‘अफिस रनर’को रूपमा आवद्ध भएको व्यक्ति सम्बन्धित ब्रान्चको म्यानेजर भएका छन् । वर्ल्डलिङ्कले त्यो तहसम्मको अवसर आफ्ना कर्मचारीहरूलाई दिइरहेको छ । 

कम्पनीमा कर्मचारी भर्नाको प्रक्रिया चाहिँ के छ ?

कर्मचारी भर्ना गर्दा हामी सर्वप्रथम आन्तरिक कर्मचारीहरूलाई नै प्राथमिकतामा राख्छौँ । त्यस हिसाबले हामीसँग जति भ्याकेन्सी हुन्छ, त्यो सबै बाहिर नआउन सक्छ । गत वर्ष मात्रै हामीले करिब १४ सय जना कर्मचारी भर्ना गरेका थियौँ । तर त्यसको ५० प्रतिशत पनि बाहिर आएन । 

वर्ल्डलिङ्कको आफ्नै करियर वेबसाइट छ । हामीले सुरुमा कम्पनीका विज्ञापन त्यसैमा राख्छौँ । त्यसपछि मेरो जब र कुमारी जबमा आउँछ ।

त्यस बाहेक हरेक क्षेत्रमा छुट्टाछुट्टै स्थानीय साझेदार पनि छन् । यसरी भर्ना गर्दा छनौटमा परेका व्यक्तिहरूलाई हाम्रो साझेदार कम्पनी इन्फोटेकमा अनबोर्ड गर्छौँ । 

सुरुमा कर्मचारी छनौट गर्ने क्रममा तपाईँहरूले के विषयलाई प्राथमिकतामा राख्नुहुन्छ ? 

हाम्रो लागि कर्मचारीको व्यवहार तथा स्वभाव सबैभन्दा महत्त्वपूर्ण हुन्छ । हाम्रो सबैभन्दा धेरै कर्मचारी रहेको क्षेत्र भनेकै ‘फिल्ड अटेन्डेन्ट’ हो । यदि उहाँहरूका लागि हामीले भ्याकेन्सी निकालेका छौँ भने त्यसका लागि हामीले कुनै पनि योग्यता खुलाएका हुँदैनौँ ।

त्यसका लागि जम्माजम्मी ‘प्लस टु प्रिफरेबल’ मात्रै भनिएको हुन्छ । हामीले सामान्यतया काम सम्बन्धी विषय केही पनि हेर्दैनौँ । किन भने त्यो सीप हुँदा पनि हुँदैन ।

हाम्रो ध्यान भनेको चाहिँ त्यो व्यक्ति हाम्रो कम्पनीमा कत्तिको ‘फिट’ (उपयुक्त) हुन सक्छ भन्नेमा रहन्छ । कुनै व्यक्ति फिल्ड अटेन्डेन्टका लागि आयो, तर उ सधैँ त्यही पदमा बस्छु भन्ने किसिमको प्रवृत्ति देखिन्छ भने त्यस्तो व्यक्ति हाम्रो लागि उपयुक्त हुँदैन ।

छनौटका क्रममा सोध्ने हाम्रा प्राय प्रश्नहरू सामान्य र यस्तै किसिमका कुराहरू बुझ्नेमा केन्द्रित हुन्छन् । यो छनौट चरण पार गरेपछि तालिम सुरु हुन्छ अनि प्लेसमेन्ट तिर लाग्छौँ ।

काम गर्दै जाँदा सम्बन्धित कर्मचारीलाई आफ्नो लागि त्यो काम उपयुक्त नभएको लाग्न सक्छ । कम्पनीलाई पनि छनौट गरिएको कुनै निश्चित व्यक्ति उपयुक्त नलागेमा निरन्तरता नहुन सक्छ ।

तपाईँको कुरा सुन्दा कलेजहरूबाट आउने जनशक्ति कम्पनीका लागि उपयुक्त नभएको र तालिम दिएरै तयार पार्ने गरिएको भन्ने बुझियो । शिक्षण संस्थामा अनेक विषयको पढाई हुने गरेको भए पनि उद्योगका लागि उपयुक्त जनशक्ति किन तयार हुन नसकेको होला ?

 केही बिजनेस स्कुलहरूसँग कुरा हुँदा उहाँहरूले पनि यो कुरा महसुस गर्नु भएको देखिन्छ । जहाँ जे नाम बिक्छ अथवा विद्यार्थी आकर्षित गर्न सकिन्छ, त्यो कोर्ष ल्याउने भन्ने अभ्यास छ ।

तर त्यो कोर्षले विद्यार्थी कतिसम्म सक्षम जनशक्ति बन्न सके भन्ने कुरामा उहाँहरू स्वयम्‌ सन्तुष्ट हुनुहुन्न । उहाँहरू फिनिशिङ स्कुल भएन भन्नुहुन्छ । हामीले पढाएर विद्यार्थी त तयार पार्‍यौँ तर निखारेर रोजगारका लागि उपयुक्त जनशक्ति चाहिँ बनाउन सकेनौँ भन्ने कुरा शिक्षण संस्थाले बुझेका छन् ।

हाम्रो भोगाइ वा भनाई पनि त्यही नै हो । हाम्रो पढाई मेनस्ट्रिममा मात्रै केन्द्रित भए जस्तो देखिन्छ । उदाहरणको लागि बीबीए, एमबीए पढ्ने भन्ने हुन्छ । त्यसभित्र बैंकिङ, फाइनान्स धेरै होलान् । बीबीए-एमबीए डिग्री लिने भन्ने हुन्छ ।

व्यवस्थापनकै प्राविधिक तर्फ जाँदा सीए होला । यस्ता विषयहरू विशुद्ध प्राज्ञिक डिग्रीमा मात्रै केन्द्रित भए । बाहिरी देशहरूमा प्राज्ञिक डिग्री जत्तिकै भोकेसनल डिग्री पनि हुन्छ । जुन हाम्रोमा त्यतिसाह्रो ध्यान दिएको जस्तो देखिँदैन ।

पाठ्यक्रम-विषयवस्तु हेर्ने हो भने नभएको भन्न मिल्ने स्थिति पनि छैन । सीटीईभीटीले उपलब्ध गराउने कोर्ष-कन्टेन्ट एकदमै राम्रो देखिन्छ । त्यसको महत्व देशमा मात्र नभएर विदेशमा पनि छ । तर हाम्रो दिमाग विश्वविद्यालय, स्नातक, स्नातकोत्तरमा मात्रै जान्छ ।

त्यस बाहेक प्रयोगात्मक दिशामा हामी कहिल्यै पनि जान सकेनौँ । यसको अर्थ एमबीए-बीबीए प्रयोगात्मक नहुने भन्ने होइन । तर त्यसका लागि प्रयोगात्मक ल्याब जस्तो अवधारणाको विषयमा सोच्नुपर्छ । 

एचआर, फाइनान्स, मार्केटिङ जुनसुकै विषय भए पनि त्यसका लागि छुट्टै ल्याब तयार पार्ने र उद्योगका लागि तम्तयार जनशक्ति सिर्जना गर्ने उद्देश्य राख्नुपर्छ । तर अहिले एचआर पढ्ने मान्छेलाई श्रम कानूनको ज्ञान हुँदैन । त्यसमा कतै पनि आयकर ऐनको कुरा आउँदैन । यस किसिमका समस्याहरू सम्बोधन गर्नुपर्ने आवश्यकता छ । 

कलेज पढिरहेका विद्यार्थीहरू, जो उद्योग क्षेत्रमा आउने तयारीमा छन्, उनीहरूका लागि तपाईँको कुनै सुझाव छ ?

वर्ल्डलिङ्कको संरचनामा सबैभन्दा माथि व्यवस्थापन हुन्छ । हाम्रोमा एक्जिक्युटिभमा सेल्स, मार्केटिङ, फाइनान्स, एचआर र प्राविधिक कामहरू पर्छन् । व्यवस्थापन तहका लागि हामी एमबीए अथवा सो सरहको योग्यता खोज्छौँ ।

त्यसपछि तल हुने एक्जिक्युटिभ तहको जिम्मेवारीका लागि हरेक विषयको पढाई हुन्छ, चाहे त्यो स्नातकोत्तर होस् अथवा स्नातक । इन्टरनेट विषय त हुँदैन, तर मुख्यतः नेटवर्किङमा चाहिँ दख्खल राख्ने हुनुपर्छ । यसका लागि बीआईटी वा इन्जिनियरिङ नै पढेको हुनुपर्छ भन्न चाहिँ होइन । 

इन्टरनेट मात्र नभएर हामीले ग्राहकका लागि माई वर्ल्डलिङ्क नामक एप पनि बनाएका छौँ । त्यो पनि हामीले आन्तरिक रूपमा नै बनाएका हुन् । यसका लागि आउटसोर्स भन्ने छैन । त्यस हिसाबले हामीलाई प्रोग्रामिङ गर्ने मान्छे पनि चाहिन्छ । 

अनि हाम्रो ‘ग्राउन्ड‘ (धरातल) स्तरमा धेरैजसो हुने भनेको नेटवर्किङको काम हो । त्यसका लागि कम्प्युटर नेटवर्किङको ज्ञान आवश्यक पर्छ । त्यसपछि हाम्रो सपोर्टको पाटो छ, एउटा फिल्डमा जाने र अर्को ब्याकइन्डको सपोर्ट ।

फिल्डमा जानेहरूमा नेटवर्किङकै काम हुन्छ भने ब्याकइन्डमा पनि त्यही विषयको ज्ञान हुँदा राम्रो हुन्छ । तर आजको समयमा सीएसआईटी ग्र्याजुएटहरू ब्याकइन्ड सपोर्टमा धेरै सङ्ख्यामा हुनुहुन्छ । यसरी वर्ल्डलिङ्कको लागि कम्प्युटर नेटवर्किङ र भोकेसनल विषयहरू पढेको भए एकदमै राम्रो ।

अहिले ३.९ जीपीए, ४ जीपीए ल्याएकै मान्छे चाहिन्छ भन्ने किसिमको प्रचलन छैन । बैंकिङ क्षेत्र अझै पनि शर्टिफिकेटको अङ्कमा केन्द्रित छन् भन्ने सुन्छु । तर हाम्रो कर्मचारी भर्नाको प्रक्रियामा चाहिँ यो विषय प्राथमिकतामा पर्दैन । एमबीए, बीबीए वा सीएसआईटी जस्ता विषयमा हामी डिग्री मात्रै हेर्छौँ ।

त्यसमा उनीहरूले प्राप्त गरेको अङ्कमा केन्द्रित हुँदैनौँ । ४ जीपीए ल्याउने विद्यार्थी र ३ जीपीए ल्याउने विद्यार्थी दुवै हाम्रा लागि समान हुन् । हाम्रो छनौट प्रक्रियामा आएर जसले राम्रो गर्न सक्छ, ऊ नै छानिन्छ । 

स्वअध्ययनबाट सक्षम भएका प्रतिभाहरूको सन्दर्भमा चाहिँ के भन्न चाहनुहुन्छ ?

वास्तवमा कलेजको डिग्रीले मात्रै केही हुँदैन । सेल्फ टट भन्ने विषय एकदमै गाह्रो कुरा हो । सबैले त्यो गर्न सक्दैनन् । सामान्यतया हामीमा त्यस्तो पढ्ने बानी पनि हुँदैन । पढेपछि पनि कति बुझ्न सक्छ र प्रयोगात्मक स्तरमा कस्तो गर्न सक्छ भन्ने कुरा पनि आउँछ ।

त्यसैले म सेल्फ टट अर्थात स्वअध्ययन भनेर प्रेसर दिने कुरा म गर्न चाहन्न । तर यति भन्न चाहन्छु कि हरेक अवसरमा धेरैभन्दा धेरै सिक्ने बानी चाहिँ बसाल्नुपर्छ । त्यो चाहे स्कुल कलेजमै पढ्दा नै किन नहोस् ।

यस्तोमा आफूलाई रुचि लागेको विषय पढ्नुपर्छ भन्छु । ज्ञान पढेर आउँछ, सीप सिकाउन सकिन्छ । त्यतिले मात्रै पुग्दैन, माइन्डसेट पनि चाहिन्छ । यो कुरा चाहिँ सिकाउन गाह्रो विषय हो । 

अनुभव र दक्षता हासिल गरेर एउटा स्तरमा पुगिसकेको कर्मचारीहरूले कम्पनी छोडेर जाने समस्या कत्तिको महसुस गर्नु भएको छ ?

नेपालका अन्य रोजगारदातालाई जस्तै यो समस्या हामीलाई पनि छ । नेटवर्किङ, सीएसआईटी, सिस्को आदिको शर्टिफिकेसन मात्र नभएर सामान्य डिग्री पनि अन्य देशमा राम्रो बिक्ने स्थिति छ । यसमा कम्पनीको मात्रै भन्दा पनि बाह्य कारणहरू पनि थुप्रै छन् । 

तर कम्पनी छोडेर जाने कर्मचारीलाई पनि हामीले सकारात्मक रूपमा हेर्न सक्नुपर्छ । बाहिर जानै नदिने भन्ने कुरा हाम्रो हातको विषय हुँदैन । हामीले भ्याएसम्म उसको अनुभव राम्रो बनाइदिने हो ।

यदि कुनै कर्मचारी हाम्रो कम्पनीमा छँदा खुसी थियो र यहाँ जति सीप र दक्षतालाई निखार्न सक्यो त्यसमा सन्तुष्ट थियो भने उ नेपालभित्रकै अर्को कम्पनी वा विदेश नै गयो भने पनि हाम्रो लागि एम्बेसडर हो । यसरी हाम्रो कम्पनीबाट एक जना बाहिरियो भने उसको माध्यमबाट अरु दुई तीन जना राम्रा मान्छे हामीकहाँ आउँछन् ।