close

आईटी विद्यार्थीलाई जापानी कम्पनीमा इन्टर्नशिप गर्ने मौका

टेकपाना टेकपाना

असोज १०, २०७९ १८:३०

आईटी विद्यार्थीलाई जापानी कम्पनीमा इन्टर्नशिप गर्ने मौका

काठमाडौं । जापानको अर्थ, व्यापार तथा उद्योग मन्त्रालयले विश्वभरका विद्यार्थीको लागि तीनदेखि छ हप्ताका लागि इन्टर्नशिप कार्यक्रम आयोजना गरेको छ । प्रत्येक वर्ष हुँदै आएको यो कार्यक्रममा यो पटक पनि विश्वभरका २०० जना विद्यार्थीलाई विभिन्न क्षेत्रमा इन्टर्नशिप गर्नसक्ने गरी कार्यक्रमको आयोजना गरेको हो । 

कार्यक्रममा विशेषगरी सूचना प्रविधिसँग सम्बन्धित विषय अध्ययन गरिरहेका विद्यार्थीहरूलाई प्राथमिकता दिइने बताइएको छ । बीआईटी, कम्प्युटर साइन्स, कम्प्युटर इन्जिनियरिङ लगायतका आईटी विषय पढेका विद्यार्थीहरूलाई प्राथमिकता दिइने बताइएको छ ।

स्नातक, स्नातकोत्तर र विद्यावारिधि अध्ययनरत विद्यार्थीहरूले यो कार्यक्रमको लागि आवेदन दिन सक्नेछन् । मन्त्रालयले जारी गरेको सूचना अनुसार कार्यक्रममा सहभागी हुने विद्यार्थीको लागि सामान्य जापानिज भाषा अथवा अंग्रेजी अनिवार्य गरिएको छ ।

जापानका साना तथा मध्यम स्तरका कम्पनीहरूलाई अन्तर्राष्ट्रिय नागरिकहरूसँग मिलेर काम गर्न तथा नवीनतम व्यवसायहरू सञ्चालन गर्न सघाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको सूचनामा उल्लेख छ ।

आवेदन दिइसकेपछि विभिन्न कम्पनीहरूले आफ्नो आवश्यकता अनुसार विद्यार्थीहरूको अन्तर्वार्तामार्फत मूल्याङ्कन गरी छनौट गर्नेछन् । यसरी छनौट भएका विद्यार्थीहरूले सम्बन्धित कम्पनीहरूको आवश्यकता अनुसार नेपालमा नै बसेर अनलाइन मार्फत अथवा जापानमा गएर काम गर्न सक्नेछन् ।

जापानमा नै जानुपरेको खण्डमा भने उक्त विद्यार्थीको भिसा, हवाई टिकट, खाना बस्न, ल्यापटप, स्वास्थ्य विमा, यातायात खर्च लगायतको खर्चहरू सम्बन्धित कम्पनीले नै व्योहोर्ने सूचनामा उल्लेख छ ।

इच्छुक व्यक्तिले ३० सेप्टेम्बरसम्म आवेदन दिन सक्नेछन् । आवेदन दिनको लागि यहाँ क्लिक गर्नुहोस् । 

यसैगरी कार्यक्रम सम्बन्धि थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस् ।

 

पछिल्लो अध्यावधिक: असोज १०, २०७९ १८:३०