close

कस्तो होला ३,२०० मेगापिक्सेलको विश्वकै सबैभन्दा ठूलाे क्यामेरा ?

टेकपाना टेकपाना

असोज २०, २०७९ १८:५

कस्तो होला ३,२०० मेगापिक्सेलको विश्वकै सबैभन्दा ठूलाे क्यामेरा ?

काठमाडाैं । खगोल विज्ञानको अध्ययन तथा अनुसन्धानमा प्रयाेग गरिने संसारको सबैभन्दा ठूलो डिजिटल क्यामेरा निर्माणको अन्तिम चरणमा पुगेकाे छ । एसएलएसी नेशनल एक्सीलिरेटर ल्याब्रोटरीका अन्वेषकहरूले यो क्यामेरामा काम गरिरहेका छन् । ‘लेगेसी सर्भे अफ स्पेस एण्ड टाइम’ (एलएसएसटी) नाम दिइएकाे यो क्यामेरा निर्माणको का अन्तिम चरणमा पुगेको छ ।

एलएसएसटी क्यामेराकाे आकार एउटा सानो कार जत्राे रहेकाे छ भने यसको तौल ३००० किलो रहेकाे छ । यसमा पाँच फिट चौडा फ्रन्ट लेन्स र ३२०० मेगापिक्सेलकाे सेन्सर रहेकाे छ । यसबाट उत्पादन हुने आवाज कम गर्न माइनस सय डिग्री सेल्सियस तापक्रममा याे क्यामेरा सञ्चालन गरिने बताइएको छ ।

निर्माण सम्पन्न भएपछि यो क्यामेरालाई चिलीको भेरा सी. रुबिन अब्जर्भेटरीको ‘सिमोनी सर्भे टेलिस्कोप’ को माथि  राखेर सञ्चालन गरिने बताइएको छ । जहाँबाट यस क्यामेराले एक दशकको लागि रातीको समयमा आकाश कस्तो देखिनेछ भनेर अवलोकन गर्नेछ । 

यस क्यामेरालाई वैज्ञानिकहरूले ब्रह्माण्डको सबैभन्दा ठूलो रहस्य, डार्क इनर्जी र डार्क म्याटरका प्रकृतिलाई थप नजिकबाट अध्ययन गर्न प्रयाेग गर्ने बताइएको छ । अनुसन्धानकर्ताहरूका अनुसार ६४ सेन्टिमिटर चौडा फोकल प्लेनले ३.५ डिग्री फिल्ड अफ भ्युसँग मेल खाने छ । जसकाे मद्दतबाट क्यामेराले भिन्न एक्सपोजरको साथ चन्द्रमाकाे ४० गुणा भन्दा बढी क्षेत्र खिच्न सक्छ।

यस क्यामेरामा विश्वको सबैभन्दा ठूलो सेन्सर बाहेक लेन्स राख्न १.५७ मिटर (पाँच फिट) भाग प्रयाेग भएकाे छ । जस कारणले गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले यस क्यामेरालाई विश्वको सबैभन्दा ठूलो अप्टिकको रूपमा मान्यता समेत दिएको छ। 

यो क्यामेराले सकृय भएर काम गर्न २७ फिट चाैडा ऐनाले प्रकाश प्रतिबिम्बित गर्ने गर्दछ । त्यसपश्चात ३.२ गिगापिक्सेल डिटेक्टरले एक दशककाे सर्वेक्षणमा प्रति रात १५ टेराबाइट डेटा कैद गर्ने बताइएको छ । यसरी नै यस क्यामेराले ३७ अर्ब तारा र थुप्रै आकाशगंगाहरूको अनुसन्धान गर्ने पनि बताइएको छ।

विगत सात वर्षदेखि निर्माण भइरहेकाे याे क्यामेरा अहिले अमेरिकाको सान फ्रान्सिस्कोमा निर्माणाधिन अवस्थामा रहेकाे छ । यदि याेजना अनुसार सबै कुराहरु भए याे क्यामेरा २०२३ को मे महिनामा चिलीको भेरा सी. रुबिन अब्जर्भेटरीमा स्थानान्तरण गरिनेछ।

अब यस क्यामेराकाे लेन्समा फिल्टरहरू जडान गर्न मात्र बाँकी रहेकाे छ । यी फिल्टरहरु फ्रान्सकाे म्यासाचुसेट्स र प्रोभेन्समा निर्माण गरिएकाे कारण क्यामेरामा जडान गर्न बाँकी रहेकाे छ । यी फिल्टरहरुकाे जडान पश्चात क्यामेराकाे अन्तिम परीक्षण गरिने छ । त्यसपश्चात चार्टर्ड बोइङ ७४७ कार्गो विमानमा चिली लगिने छ । यस क्यामेराका निर्माताहरुले सन् २०२४ मा पहिलाे फाेटाे खिच्‍ने अपेक्षा गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २०, २०७९ १८:७