close

बाघको अवस्था बुझ्न यसरी प्रयोग गरिन्छ क्यामेरा ट्र्याप प्रविधि

टेकपाना टेकपाना

मंसिर १८, २०८० १८:१

बाघको अवस्था बुझ्न यसरी प्रयोग गरिन्छ क्यामेरा ट्र्याप प्रविधि

काठमाडौं । बाघको अवस्था बुझ्न चितवन राष्ट्रिय निकुञ्जले क्यामेरा ट्रयापिङ प्रविधिको प्रयोग गरेको छ । निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्र विशेषगरी चुरे र भावर क्षेत्रमा रहेका बाघको सङ्ख्या र अवस्था बुझ्न क्यामेरा ट्रयापिङ प्रविधि प्रयोग गरिएको हो । 

टेकपानासँग कुरा गर्दै निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले पछिल्लो समय बाघको आक्रमणका घटना बढेपछि त्यसको अध्ययन गर्न असोज २५ गते सामुदायिक वन क्षेत्रमा क्यामेरा जडान गरेको बताए । ती क्यामेरा मङ्सिर ११ गतेदेखि निकाल्न सुरु गरिएको थियो । “क्यामेरा सामुदायिक वन क्षेत्रमा बाघको ‘इकोलोजिकल मनिटरिङ’का लागि राखिएको थियो,” उनले भने, “अहिले क्यामेरा निकालेर फुटेजमार्फत बाघको अवस्थाबारे अध्ययन भइरहेको छ ।”

सामान्यतः एउटा ठाउँमा उक्त क्यामेरा १५ देखि २१ दिनसम्म राख्ने गरिएको उनले सुनाए । विशेषगरी बाघको चाल बढी हुने ठाउँमा क्यामेरा राखिन्छ । यस्ता क्यामेरामा सेन्सर जडान हुन्छ । यसले वन क्षेत्रमा जनावर वा अन्य पंक्षीको चाल पाउने बित्तिकै फोटो र भिडिओ खिच्छ । रातको समयमा भने चाल पाउनासाथ सेन्सरले लाइट अन गरि भिडिओ र फोटो खिच्छ । 

सोही भिडिओलाई क्याट्रयाट (CaTRAT) तथा वाइल्ड आईडी जस्ता सफ्टवेयर प्रयोग गरेर बाघलाई छुट्याइन्छ । यसका लागि नेपालमा कुन सफ्टवेयर प्रयोग गरिन्छ भन्नेबारे आफू स्पष्ट नभएको तिवारीले बताए । 

जसरी मानिसको औंठा छाप फरक हुन्छ त्यस्तै बाघको शरीरको पाटा पनि फरक फरक हुन्छ । यसैलाई सफ्टवेयरले छुट्याउँछ । जसले गर्दा बाघको सङ्ख्या यकिन गर्न सकिन्छ । 

सामान्यतः बाघ शिकार खेल्न नसक्ने अवस्थामा पुगेपछि सजिलै पाइने आहाराको खोजी गर्छ । त्यसबाहेक पनि जम्काभेट हुँदा, सम्भोगको अवस्थामा हुँदा, डमरु साथमा हुँदा, शिकार खाइरहेको अवस्थामा मानिसको चालले बाधा पुर्याए आक्रमण गर्न तम्सिन्छ । अहिले सामुदायिक वनमा जडान गरेका क्यामेराको सहयोगले यी विविध पक्ष बाहिर आउने उनको विश्वास छ ।

“यसबाट मध्यवर्ती क्षेत्रमा मानव र बाघको अन्तरक्रियाको अवस्था, त्यसलाई न्यूनीकरण गर्ने सावधानीका कुराको जानकारी पाउन सकिन्छ,” उनले अगाडि भने, “बाघ रोगी वा कमजोरी छ कि, दुब्लो छ कि भन्ने अवस्था थाहा पाउन पनि समय समयमा यो प्रविधिको प्रयोग गरी अनुगमन गर्न आवश्यक पर्छ ।” 

क्यामेरा १५ देखि २१ दिनसम्म राखिने भए पनि समय समयमा क्यामेराको अवस्था बुझ्न निकुञ्जका कर्मचारीहरू वन क्षेत्रमा जान्छन् । 

“क्यामेरामा अल्कलाइन ब्याट्री प्रयोग गरिएको हुन्छ । सामान्यतः एक पटक ब्याट्री चार्ज गर्दा औसत २१ दिनसम्म ब्याट्री टिक्छ । तर, कहिलेकाहीँ वन्यजन्तुको चाल बढी हुँदा बढी फोटो र भिडिओ खिच्छ । जसले गर्दा चार्ज केही अगाडि नै सकिन सक्छ,” उनले भने । 

त्यस्तै कतिपय अवस्थामा वनमा गएका मानिसले त्यसलाई डिस्पोज गरिदिन्छन् भने केही अवस्थामा क्यामेराको स्टोरेज फुल हुन्छ । यस्तो अवस्थामा क्यामेरा नियमन गर्नुपर्ने उनले सुनाए । बाघको राष्ट्रिय सर्वेक्षण हुँदा पनि क्यामेरा ट्रयापिङ प्रविधि नै प्रयोग हुन्छ ।


 

पछिल्लो अध्यावधिक: मंसिर १८, २०८० १८:१