close

गुगल पिक्सेल सेभेन र सेभेन प्रो सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

टेकपाना टेकपाना

असोज २१, २०७९ ११:१५

गुगल पिक्सेल सेभेन र सेभेन प्रो सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । गुगलले विहीबार एक कार्यक्रम आयोजना गर्दै पिक्सेल सेभेन सिरिजका स्मार्टफोनहरू सार्वजनिक गरेको छ । यससँगै कम्पनीले गुगल पिक्सेल वाच, गुगल पिक्सेल ट्याबलेट पनि बजारमा उपलब्ध गराउने भएको हो । कम्पनीले उक्त कार्यक्रममा पिक्सेल सिरिज अन्तर्गतका दुई स्मार्टफोन गुगल पिक्सेल सेभेन र गुगल पिक्सेल सेभेन प्रो प्रस्तुत गरेको थियो ।

पिक्सेल सेभेनमा  ९० हर्ज रिफ्रेस रेट भएको ६.३ ईन्च एचडी प्लस ओएलईडी स्क्रिन रहेको छ । जसमा गुगल पिक्सेल सिक्सको तुलनामा २५ प्रतिशत बढी ब्राइटनेस भएको कम्पनीको दाबी छ ।

कम्पनीले सार्वजनिक गरेको पिक्सेल सेभेनमा कम्पनीको पछिल्लो प्रोसेसर टेन्सर जीटु समावेश छ । यस फोनलाई गुगलको ३० वाट चार्जरले ३० मिनेटमा ५० प्रतिशत चार्ज गर्न सक्ने बताइएको छ । यस फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा सेन्सर, ११४ डिग्री फिल्ड अफ भ्युको १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा समावेश गरिएको छ ।

सेल्फीका लागि भने यसमा १०.८ मेगापिक्सेलको क्यामेरा प्रयोग गरिएको छ । कम्पनीले ८ जीबी र्याम र ४,३५५ एमएएच ब्याट्री क्षमता भएको पिक्सेल सेभेनको मूल्य ५९९ डलर (करिब ७९ हजार १७० रुपैयाँ) बाट सुरु गरेको छ ।

त्यस्तै पिक्सेल सेभेन प्रोमा भने कम्पनीले धेरै कुरा समावेश गरेको छ । यसमा १२० हर्ज रिफ्रेस रेट भएको ६.७ ईन्च क्युएचडी प्लस एलटीपीओ ओएलईडी डिस्प्ले रहेको छ । टेन्सर जीटु पावर चिपसेटद्वारा सञ्चालित यो फोन गुगलको ३० वाट चार्जरले ३० मिनेटमा ५० प्रतिशत चार्ज गर्न सक्ने बताइएको छ ।

यस फोनमा पनि ५० मेगापिक्सेलको मुख्य क्यामेरा र १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा समावेश गरिएको छ । पिक्सेल सेभेन प्रोमा ४८ मेगापिक्सेलको टेलिफोटो क्यमेरा समावेश छ । जसले ३० गुणासम्मको जुम गर्न सक्ने बताइएको छ । यस फोनमा कम्पनीले १०.८ मेगापिक्सेलको सेल्फी क्यामेरा उपलब्ध गराएको छ । १२ जीबी र्याम र ५००० एमएएच ब्याट्री क्षमता भएको यस फोनको मूल्य कम्पनीले ८९९ डलर (१ लाख १८ हजार रुपैयाँ) बाट सुरुवात गरेको छ ।

कम्पनीले यि दुवै फोनको बक्समा १५ वाटको वायरलेस चार्जर उपलब्ध गराउने छ भने वायर्ड चार्जर भने बक्समा उपलब्ध हुने छैन । एन्ड्रोइड १३ अपरेटिङ सिस्टमबाट सञ्चालित यि दुवै फोनमा एउटा भौतिक र ई-सिम सपोर्ट हुने बताइएको छ ।

त्यस्तै पिक्सेल सेभेन र पिक्सेल सेभेन प्रो १२८ जीबी र २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध हुने बताइएको छ । यि फोनको प्रि-अर्डर अहिले नै खुलाइएको छ भने भौतिक रूपमा असोज २७ बाट उपलब्ध हुने कम्पनीको भनाइ छ ।

पछिल्लो अध्यावधिक: असोज २१, २०७९ ११:२४