close

गर्भवती भएको कुरा एप्पल वाचले पत्ता लगाएपछि...

टेकपाना टेकपाना

असोज २७, २०७९ १५:४६

गर्भवती भएको कुरा एप्पल वाचले पत्ता लगाएपछि...

काठमाडौं । हेल्थ डिभाइसका सन्दर्भमा एप्पल वाचलाई बढी रुचाइन्छ । हर्ट मनिटरिङ, ईसीजी, अक्सिमिटर लगायतका फिचरका कारण एप्पल वाच लोकप्रिय बनेको छ । साथै यो डिभाइसले हर्ट-अट्याक, ट्युमर तथा अन्य स्वास्थ समस्या पत्ता लगाउने गरेका समाचार पनि बारम्बार बाहिर आइरहन्छन् ।

यतिखेर भने एप्पल वाचले महिला गर्भवती भएको कुरा पत्ता लगाएको घटना चर्चामा छ । वास्तवमा कुनै पनि स्वास्थ्य परीक्षण अगावै एप्पल वाचले महिलाको गर्भ अवस्था पत्ता लगाएको थियो । सामाजिक सञ्जाल रेडिटमा पोस्ट गरिएको जानकारी अनुसार ३५ वर्षीया एक महिलाको एप्पल वाचले औसत दिनभन्दा मुटुको धड्कन बढाएको देखाएको थियो ।

उनी भन्छिन्, "सामान्यत मेरो हर्ट रेट ५७ छ । तर त्यसबेला बढेर ७२ पुग्यो ।"

यसरी मुटुको धड्कन बढ्ने थुप्रै कारणहरू हुने गर्छन् । सुरुवातमा उनलाई आफू कोभिडबाट संक्रमित भएको आशंका गरिन् । तर, कोभिड टेस्ट नेगेटिभ आएपछि आफूलाई भएको के हो भन्ने कुरा उनले यकिन गर्न सकिनन् ।

त्यसपछि उनले गर्भ बसेको अवस्थामा पनि महिलाको धड्कन बढ्छ भन्ने कुरा पत्ता लगाइन् । उनले लेखेकी छन्, "गर्भ रहेको सुरुवाती अवस्थामा मुटुको धड्कन बढ्छ भन्ने कुरा थाहा पाएपछि गर्भ बसेको कुरामा ढुक्क भएँ ।"

त्यसपछि उनी गर्भ रहे/नरहेको कुरा परीक्षण गर्न क्लिनिकमा गइन्, जहाँ उनी चार हप्ताको गर्भवती भएको पुष्टि भयो ।

यसो त एप्पल वाचमा गर्भ अवस्था पहिचान गर्नसक्ने भन्ने कुनै आधिकारिक फिचर भने छैन । यसले स्वास्थ्यमा भएका अस्वभाविक कुरालाई पहिचान गर्ने गर्छ ।

आईओएस १६ को अपडेटमा भने एप्पल वाचले वुमन-साइकल ट्रयाकिङ एपका लागि महत्त्वपूर्ण फिचर ल्याएको छ, जसका माध्यमबाट महिलाले महिनावारी चक्रको विस्तृत विवरण राख्न सक्छन् ।

त्यस्तै एप्पल सिरिज ८ र एप्पल वाच अल्ट्रामा बडी टेम्प्रेचर सेन्सर समावेश गरेको छ । यसका माध्यमबाट घडीले महिनावारी ट्रयाक गरेर गर्भ बस्न सक्ने समयको अनुमान गर्छ ।

पछिल्लो अध्यावधिक: असोज २७, २०७९ १५:५३