close

पीएमपीएल साउथ एसिया च्याम्पियनशिपमा नेपाली टिमको खराब सुरुवात

टेकपाना टेकपाना

असोज २८, २०७९ १४:५०

पीएमपीएल साउथ एसिया च्याम्पियनशिपमा नेपाली टिमको खराब सुरुवात

काठमाडाैं । पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया च्याम्पियनशिप फल २०२२ मा नेपाली टिमले खराब सुरुवात गरेका छन् । बिहीबारदेखि सुरु भएको प्रतियोगितामा कुल १६ टिममध्ये नेपालबाट छ टोली सहभागी छन् ।

यसअन्तर्गत मंगोलियन पब्जी टिम गडलाइक स्टलवार्टले अग्रता लिएको छ । त्यस्तै दोस्रो स्थानमा पनि अर्को मंगोलियन टिम आईएचसी ई-स्पोर्टस रहेको छ । यसैगरी तेस्रो, चौंथो, पाँचौ र छौटौँ स्थानमा क्रमशः नेपाली टिम स्काइलाइट गेमिङ, डीआरएस गेमिङ, ट्रेन टु किल र हाई भोल्टेज रहेका छन् । अन्य दुई नेपाली टिम भेनम लेजेन्ड र ईलिमेन्ट्रिक्स क्रमशः १०औँ र १३औँ स्थानमा छन् ।

मंगोलियन पब्जी टिम गडलाइक स्टलवार्टले बिहीबार खेलिएको ६ खेलमध्ये एकमा चिकेन डिनर र २६ इलिमिनेसन पोइन्टसहित कुल ७१ पोइन्ट ल्याएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको आईएचसी ई-स्पोर्टसले ६ गेममा एउटा चिकेन डिनर र ३६ इलिमिनेसन पोइन्टसहित ७० पोइन्ट बटुलेको थियो ।

त्यस्तै तेस्रो स्थानमा रहेको नेपाली टिम स्काइलाइट गेमिङले छ गेममा दुई चिकेन र ३४ इलिमिनेसन पोइन्टसहित ६९ पोइन्ट निकालेको छ । यो प्रतियोगिता १३ अक्टोबरदेखि १६ अक्टोबरसम्म चल्ने छ, जसमा दिनको ६ खेल गरी कुल २४ खेल खेलाइने छ ।

प्रतियोगिताको कुल पुरस्कार राशि एक लाख ५० हजार डलर तोकिएको छ । जसमध्ये प्रतियोगिताको विजेताले ४० हजार डलर, उपविजेताले २८ हजार डलर र तेस्रो स्थानमा रहन सफल टिमले १८ हजार डलर हात पार्नेछ । साथै प्रतियोगिताका शीर्ष तीन टोली सिधै पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२२ को लागि छनोट हुनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २८, २०७९ १४:५१