close

गोला तान्दै ओलीले गरे सर्वसाधारणलाई फोन

टेकपाना टेकपाना

कात्तिक ४, २०७९ १५:८

गोला तान्दै ओलीले गरे सर्वसाधारणलाई फोन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नम्बर टिपाएका सर्वसाधारणलाई गोलाप्रथाबाट तानिएका नम्बरमा फोन गरेका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकबाट ओलीले आफूसँग कुरा गर्न चाहेका सर्वसाधारणलाई फेसबुक पेजमा आफ्नो नम्बर पठाउन अनुरोध गरेका थिए ।

बिहीबार १२ बजेसम्म आफ्नो फेसबुक पेजमा कुल दुई लाख ९ हजार ११६ जनाले नम्बर टिपाएको अध्यक्ष ओलीको‍ दाबी छ ।

"'कल केपी बा' कार्यक्रममा मैले करिब चार घन्टा टेलिफोन संवाद गरें । तपाईँहरूसँग भएका कुराकानीले म उत्साहित छु । दुई लाख नाै हजार ११६ जनाले नाम टिपाउनु भएकाले मैले सबैसँग कुरा गर्न पाइनँ । म क्रमैसँग कुरा गर्दै जानेछु," उनले फोन गरिसकेपछि फेसबुकमा पोस्ट राख्दै भनेका छन् ।

शुक्रबार ओलीले पार्टी कार्यालय च्यासलबाट सर्वसाधारणसँग कुराकानी गरेका हुन् । ओलीको सचिवालयले भने उनले आगामी चुनाव लगायत समसामयिक विषयमा कुराकानी गरेको बताएको छ ।

त्यस्तै अध्यक्ष ओलीले शुक्रबार दिउँसो राष्ट्रिय सभागृहमा देशभरका आदिवासी जनजाति प्रतिनिधिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने बताएका छन् ।

"छिमेकी देश भारत, हङकङ, बेलायत लगायत अन्य देशमा बसोबास गर्ने जनजाति अगुवाहरूसँग भर्चुअल माध्यमबाट कुराकानी हुनेछ । इच्छुक साथीहरूलाई निम्तो छ है !" उनले फेसबुकमा राखेको पोस्टमा लेखिएको छ ।

त्यस्तै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेन्डामा आधारित 'लाइभ डिबेट' गर्ने प्रस्ताव राखेका थिए । यसबारे प्रधानमन्त्री देउबाबाट भने कुनै प्रतिक्रिया आएको छैन ।

पछिल्लो अध्यावधिक: कात्तिक ४, २०७९ १५:८