close

डिजिटल नेपाल फ्रेमवर्क २.० र नेपाल टेलिकमको प्रगतिबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

टेकपाना टेकपाना

भदौ २, २०८२ १७:३०

डिजिटल नेपाल फ्रेमवर्क २.० र नेपाल टेलिकमको प्रगतिबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाल फ्रेमवर्क २.० र नेपाल टेलिकमको कार्यप्रगतिको विषयमा ब्रिफिङ लिएका छन् । प्रधानमन्त्री ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव राधिका अर्याल, टेलिकमका निमित्त प्रबन्ध निर्देशक सबिना मास्के प्रधानसँग सोमबार ब्रिफिङ लिएका हुन् । 

सञ्चारमन्त्री गुरुङले सरकारबाट हालै राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति स्वीकृत भएको सन्दर्भमा डिजिटल नेपाल फ्रेमवर्कलाई थप विस्तार र समयसापेक्ष परिमार्जन गर्न गृहकार्य सुरु गरिएकाबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका छन् ।

प्रस्तावित डिजिटल नेपाल फ्रेमवर्क २.० ढाँचामा तयार गरिएको छ । उक्त प्रस्तावमा डिजिटल इकोसिस्टमको पूर्वाधार, पहुँच, क्षमता विकास र रुपान्तरणको अवधारणा समावेश गरिएको छ । 

प्रस्तावित नयाँ फ्रेमवर्कमा यसअघि समावेश कृषि, शिक्षा, स्वास्थ्य, शिक्षा, पर्यटन, वित्त, सुशासनका साथै अहिले सामाजिक सुरक्षा, विपद् र जलवायु परिवर्तनका क्षेत्र थप गरिएको मन्त्रालयले जनाएको छ । यसको कार्यान्वयनका क्रममा डिजिटल नेपालको प्राथमिकता निर्धारण, अनुगमन र प्रतिवेदनका लागि सञ्चारमन्त्रीको अध्यक्षतामा डिजिटल रुपान्तरण परिषद् प्रस्ताव गरिएको छ ।

नयाँ फ्रेमवर्क मन्त्रिपरिषद्बाट स्वीकृतिपछि कार्यान्वयनमा आउनेछ । 

प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो कार्यकालमा डिजिटल नेपाल फ्रेमवर्क, २०७६ स्वीकृत गरेका थिए । 

पछिल्लो अध्यावधिक: भदौ २, २०८२ १८:१