काठमाडौँ । पब्जीको सबै भन्दा ठूलो प्रतियोगिता मध्येको एक पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) नोभेम्बर १० (कात्तिक २४) बाट सुरु हुने भएको छ । जसमा नेपालसहित विश्वभरका टिमहरूको सहभागिता रहनेछ ।
नेपालबाट डीआरएस गेमिङ, ट्रेन टु किल र स्काइलाइट गेमिङ गरी तीन टिमले यो प्रतियोगितामा सहभागिता जनाउने छन् । यी नेपाली टिम केही साताअघि भएको पब्जी मोबाइल प्रो लिग साउथ एसिया फल च्याम्पियनशिपबाट यसका लागि छनौटमा परेका हुन् ।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यो प्रतियोगिता तीन चरणमा सम्पन्न हुनेछ ।
१) लिग चरण:
यो प्रतियोगिताको पहिलो चरण लिगको रूपमा आयोजना हुनेछ । जहाँ नेपालका तीन टिम सहित कूल ४८ ओटा टिमले भाग लिनेछन् ।
सबै टिमलाई १६/१६ टिम गरी तीन समूहमा विभाजन गरिनेछ । त्यसपछि यी विभिन्न समूहबीच प्रतियोगिता सुरु हुनेछ । यो प्रतियोगिता नोभेम्बर १० देखि २७ सम्म मलेसियाको क्वालालम्पुरमा सञ्चालन हुने छ ।
जसबाट हरेक समूहका शीर्ष ३ टिम सोझै फाइनलको लागि छनौट हुनेछन् र समूहको खेल सकिँदा अन्तिम पाँच भित्र पर्ने टिम प्रतियोगिताबाट बाहिरिने छन् ।
२) सर्भाइभल चरण:
यो प्रतियोगिताको दोस्रो चरण हो । जसमा पहिलो चरणबाट चौथोदेखि ११ औँ स्थानभित्र रहन सफल भएका हरेक समूहका आठ/आठ टिमले पुनः एकअर्का विरुद्ध खेल्नेछन् ।
२४ टिमलाई आठ आठ गरी पुन: ३ समूहमा विभाजन गरी राउन्ड रोबिन शैलीमा कूल १८ खेल खेलाइने छ । जसबाट अङ्क तालिकामा शीर्ष १६ भित्र रहन सफल टिमलाई पुन: अर्को चरणमा खेलाइनेछ र अन्तिम आठ टिम प्रतियोगिताबाट नै बाहिरिने छन् ।
यो चरण नोभेम्बर ३० देखि डिसेम्बर २ सम्म चल्नेछ ।
३) लास्ट चान्स:
यो प्रतियोगिताको अन्तिम चरण हो । जसमा सार्भाइभल चरणबाट छनौट भएका १६ टिमले पुनः एकअर्का विरुद्ध खेल्नेछन् । जसबाट शीर्ष चार टोली फाइनलको लागि छानिने छन् ।
अन्य बाँकी १२ टिम प्रतियोगिताबाट बाहिरिने छन् । लास्ट चान्सका खेल डिसेम्बर ३ र ४ मा हुनेछ ।
प्रतियोगिताको फाइनल इन्डोनेसियाको जकार्तामा जनवरी ६ देखि ८ सम्म हुनेछ । फाइनल चरणमा कूल १८ खेल खेलाइनेछ । जसमा प्रतियोगिताको लिग चरणबाट १३ टिम र आमन्त्रित तीन टिमले उपाधिका लागि भिड्ने छन् ।
आमन्त्रित टिममा चीनको टिम एसएमजी र इन्डोनेसियाको अल्टर इगो लाइम्याक्स रहेका छन् । आमन्त्रित एउटा टोलीको भने अझै टुङ्गो लागिसकेको छैन ।
यो प्रतियोगिताको कूल पुरस्कार राशी ४० लाख अमेरिकी डलर (करिब ५२ करोड ६६ लाख ४० हजार रुपैयाँ) रहेको छ ।