close

सुपर कम्प्युटरको भविष्यवाणी, फाइनलमा पोर्चुगललाई हराएर अर्जेन्टिनाले विश्वकप जित्ने

टेकपाना टेकपाना

कात्तिक १६, २०७९ ७:४९

सुपर कम्प्युटरको भविष्यवाणी, फाइनलमा पोर्चुगललाई हराएर अर्जेन्टिनाले विश्वकप जित्ने

काठमाडौं । फिफा विश्वकप सुरु हुन अब तीन साता पनि छैन । खेलकुदप्रेमीका लागि ठूलो पर्व विश्वकप नजिकिँदै गर्दै धेरैले फरक-फरक विश्लेषण गरेका छन् ।

कतिपयले आफूले समर्थन गरेको टिमले जित्ने अपेक्षा गरेका छन् भने केही विभिन्न टिमको प्रदर्शनी हेरेर जित्ने वा नजित्ने अनुमान लगाइरहेका छन् । त्यस्तै थुप्रै अनलाइन माध्यमले पनि कुन टिमले विश्वकप जित्नसक्छ भन्दै भोटिङ पोल क्रियट गरिरहेका छन् ।

यसैबीच सुपरकम्प्युटरले १८ डिसेम्बरमा हुने फाइनल खेलको रोमाञ्चक भविष्यवाणी गरेको छ । बीसीए रिसर्चले सुपरकम्प्युटर प्रयोग गरी गरेको अनुसन्धानअनुसार फाइनलमा लियोनल मेस्सीको देश अर्जेन्टिनाले विश्वकप जित्नेछ । विभिन्न चरणहरू पार गर्दै फाइनलमा पुगेको पोर्चुगललाई पेनाल्टी गोलमार्फत हराएर अर्जेन्टिनाले जित्ने सुपरकम्प्युटरको दाबी छ ।

यसो त फुटबलमा मेस्सी र क्रिश्चियानाे रोनाल्डोको चर्चा सर्वाधिक बढी हुने गर्छ । यी टिमका खेल जुनसुकै देशसँग भएपनि अरबौँ फुटबल समर्थकले चासो राखिरहेका हुन्छन् । यसैबीच सुपरकम्प्युटरले गरेको यस भविष्यवाणीले विश्वकप थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

बीसीए रिसर्चमा प्रकाशित साे रिपोर्टमा भनिएको छ, ''धेरै चर्चापछि अन्ततः हामी लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कतारमा हुने २०२२ फिफा विश्वकपको उपाधि पाउने निष्कर्षमा पुगेका छौं,''

यो भविष्यवाणी सुपरकम्प्युटरले 'ईए स्पोर्ट्स फिफा २०२३' खेलका आधारमा खेलाडीको व्यक्तिगत विवरणलाई मुख्य आधार मानेर गरिएको विभिन्न रिपोर्टमा उल्लेख छ, जसमा पछिल्ला ४ वर्षको विश्वकपको १९२ समूह चरण र ६४ नकआउट चरणको समग्र तथ्याङ्कलाई पनि आधार मानिएको छ ।

यी सबै पक्षलाई आधार बनाएर सुपरकम्प्युटरले फिफा विश्वकप २०२२ अर्जेन्टिनाले जित्ने भविष्यवाणी गरेको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १६, २०७९ ७:४९