काठमाडौ । पोखरा-जोमसोम हवाई मार्गमा क्यामेरा जडान गर्नको लागि राष्ट्रिय आविष्कार केन्द्र र नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता भएको छ । नेपालको भौगोलिक जटिलता एवं मौसमी विविधतालाई मध्यनजर गर्दै हवाई उड्डयन क्षेत्रलाई थप सुरक्षित, भरपर्दो एवं विश्वसनिय बनाउनको लागि क्यामेरा जडानको काम सुरु गरेको प्राधिकरणले जनाएको छ ।
यहि योजना अन्तर्गत पोखरा जोमसोम बिचको भागमा पर्ने हवाई रूटमा मौसम सम्बन्धी जानकारी दिने क्यामेरा जडान गर्न आवश्यक परेको हुँदा राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरी अगाडि बढेको प्राधिकरणको भनाई छ । यो भन्दा अगाडि देखि नै केन्द्रले यो कामको लागि परिक्षण गरिरहेको थियो ।
यो क्यामेरा मार्फत् पोखरादेखि जोमसोम जाने हवाई मार्गमा बादल लागेको छ कि छैन भनेर पोखरा र जोमसोमको कन्ट्रोल टावरबाट नै हेर्न मिल्छ । यो क्यामेरा ३३०० मिटर र २३०० मिटर अग्लो डाँडामा राखिएको छ । यसले नेपालको पहाडी भेगमा हवाईजहाज उडाउने पाइलटहरुलाई मद्दत पुग्ने विश्वास लिइएको छ ।
आउने दिनहरूमा अन्य क्षेत्रमा पनि यसरी नै क्यामेरा जडान गर्ने प्राधिकरणको योजना रहेको छ ।