काठमाडौं । प्रेस काउन्सिल नेपालले विभिन्न सञ्चारमाध्यमको नाम (मास्टहेड) प्रयोग गरी राजनीतिक दल तथा उम्मेदवारका बारेमा सामाजिक सञ्जालमा अफवाहपूर्ण, दुष्प्रचार गरेको भन्दै आपत्ति जनाएको छ
शनिबार सेतापाटी, नयाँ पत्रिका, रातोपाटी, उज्यालो अनलाइन लगायतका मिडियाको मास्टहेड दुरूपयोग गरी विभिन्न दल तथा उम्मेदवारबारे भ्रामक समाचार सामाजिक सञ्जालमा फैलिएको थियाे ।
त्यस्ता समाचार सामग्रीका सम्बन्धमा सम्बन्धित मिडियासँग जानकारी माग गर्दा ती शीर्षकमा समाचार सम्प्रेषण नगरेको र मिथ्या समाचार भएको जानकारी आएको काउन्सिलले जनाएको छ ।
''यस संवेदनशील घडीमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले कुनै पनि माध्यमबाट दुष्प्रचारयुक्त/मिथ्या सूचना/भ्रामक टिकाटिप्पणी नगर्न तथा समाजिक सञ्जालबाट समेत पोष्ट, शेयर, कमेन्ट नगर्न/नगराउनतर्फ प्रेस काउन्सिल नेपाल सम्पूर्ण सञ्चारमाध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ताको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ,'' काउन्सिलले जारी गरेको सूचनामा भनिएको छ ।