close

यस्तो थियो सुपर कम्प्युटरको भविष्यवाणी, फाइनलमा पोर्चुगललाई हराएर अर्जेन्टिनाले विश्वकप जित्ने !

टेकपाना टेकपाना

मंसिर २४, २०७९ १९:२६

यस्तो थियो सुपर कम्प्युटरको भविष्यवाणी, फाइनलमा पोर्चुगललाई हराएर अर्जेन्टिनाले विश्वकप जित्ने !

काठमाडौं । जारी फिफा विश्वकप २०२२ मा आज दुई ओटा क्वाटरफाइनल खेल हुँदैछन् । संसारले विश्वकप विजेता राष्ट्र पाउन पाँच खेल मात्र बाँकी हुँदा उपाधि कसले उचाल्ला भन्ने विषय राेचक बनिरहेकाे छ ।

यसो त खेल सुरु हुनुअघि विभिन्न पक्षलाई आधार बनाई विश्वकप विजेताको भविष्यवाणी गर्ने प्रचलन संसारभर नै छ । तर, अधिकांश खेलप्रेमीले बलियो टिमलाई नै विश्वकपको दाबेदार मानेका हुन्छन् । यसपटक विश्वकप विजेताको दाबेदार मानिएका थुप्रै टिम बाहिरिसकेका छन् ।

ब्राजिल, स्पेन, जर्मनीजस्ता देशलाई खेल पण्डितहरूले विश्वकप उपाधिको दाबेदार मानेका थिए । यसो त यस पटक विश्वकप विजेता भविष्यवाणी गर्नेहरूमा सुपरकम्प्युटर र अल्गोरिदम पनि मिसिए ।

बीबीसीमा प्रकाशित 'विश्वकप २०२२: अक्टोपसदेखि अल्गोरिदमसम्म विजेता अनुमान गर्ने अनौठो तरिका' शीर्षकको समाचारमा ब्राजिलले विश्वकप जित्ने प्रबल सम्भावना रहको उल्लेख गरिएको थियो । दोस्रोमा बेल्जियम, तेस्रोमा अर्जेन्टिना र चौंथोमा फ्रान्सले जित्ने सम्भावना रहेको बताइएको थियो ।

तर, आर्टिफिसियल इन्टेलिजेन्स तथा अल्गोरिदमले गरेको उक्त भविष्यवाणी केही हदसम्म गलत भइसकेको छ । किनभने सम्भावित विजेताको पहिलो र दोस्रो श्रेणीमा रहेका देश खेलबाट बाहिरिसकेका छन् ।

यता सुपरकम्प्युटरले गरेको भविष्यवाणी भने केही हदसम्म सही हुँदै गएकाे छ । सुपरकम्प्युटरले अक्टोबर २७ मा नै १८ डिसेम्बरमा हुने फाइनल खेलको रोमाञ्चक भविष्यवाणी गरेको थियो । बीसीए रिसर्चले सुपरकम्प्युटर प्रयोग गरी गरेको उक्त अनुसन्धानअनुसार फाइनलमा लियोनल मेस्सीको देश अर्जेन्टिनाले विश्वकप जित्नेछ ।

विभिन्न चरणहरू पार गर्दै फाइनलमा पुगेको पोर्चुगललाई पेनाल्टी गोलमार्फत हराएर अर्जेन्टिनाले जित्ने सुपरकम्प्युटरको दाबी थियो । अहिले भने क्वार्टरफाइनमा नेदरल्यान्डलाई पेनाल्टीमा हराएर अर्जेन्टिना सेमिफाइनल चरणमा पुगेको छ ।

उता पोर्चुगल र मोरोक्को भने सेमिफाइनलका लागि भिड्दै छन् । यदि आज पोर्चुगलले मोरोक्कोलाई हराएको खण्डमा सेमिफाइनलमा पोर्चुगलले फ्रान्स वा इङ्ल्यान्डबाट विजयी बनेको देशसँग भिड्नेछ ।

यसर्थ सुपरकम्प्युटरको भविष्यवाणी भने अहिलेसम्म रोचक देखिएको छ । यसो त फुटबलमा मेस्सी र क्रिस्टियानाे रोनाल्डोको चर्चा सर्वाधिक बढी हुने गर्छ । यी टिमका खेल जुनसुकै देशसँग भएपनि अरबौँ फुटबल समर्थकले चासो राखिरहेका हुन्छन् ।

यसैबीच सुपरकम्प्युटरले गरेको यस भविष्यवाणीले विश्वकप थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ । बीसीए रिसर्चमा प्रकाशित रिपोर्टमा भनिएको छ, "धेरै चर्चापछि अन्ततः हामी लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कतारमा हुने २०२२ फिफा विश्वकपको उपाधि पाउने निष्कर्षमा पुगेका छौं ।"

यो भविष्यवाणी सुपरकम्प्युटरले 'ईए स्पोर्ट्स फिफा २०२३' खेलका आधारमा खेलाडीको व्यक्तिगत विवरणलाई मुख्य आधार मानेर गरिएको विभिन्न रिपोर्टमा उल्लेख छ, जसमा पछिल्ला चार वर्षको विश्वकपको १९२ समूह चरण र ६४ नकआउट चरणको समग्र तथ्याङ्कलाई पनि आधार मानिएको छ । यी सबै पक्षलाई आधार बनाएर सुपरकम्प्युटरले फिफा विश्वकप २०२२ अर्जेन्टिनाले जित्ने भविष्यवाणी गरेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २४, २०७९ १९:२६