close

फेसबुकमार्फत फेला परे अनलाइन सट्टेबाजीका अर्का एजेन्ट, जसले एक वर्षमै गरे १० करोडको कारोबार

टेकपाना टेकपाना

मंसिर २९, २०७९ १७:११

फेसबुकमार्फत फेला परे अनलाइन सट्टेबाजीका अर्का एजेन्ट, जसले एक वर्षमै गरे १० करोडको कारोबार

काठमाडौं । फिफा विश्वकप २०२२ मा अनलाइन बेटिङ साइट 'वनएक्स बेट (1X bet)बाट सट्टेबाजी लगाउन रकम संकलन गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङ, सुन्दरबजार नगरपालिका वडा नं. १ घर भई हाल काठमाडाैं महानगरपालिका वडा नं २ टोखा बस्ने २६ वर्षीय सुजन गौली रहेका छन् ।

फिफा विश्वकप २०२२ लगायत विश्वमा सञ्चालन हुने खेल तथा गतिविधिहरूमा सट्टेबाजी गर्न प्रयोग हुने 'वनएक्स बेट'मार्फत सट्टेबाजी लगाउन रकम संकलन गर्ने/गराउने कार्यमा एजेन्टहरू सक्रिय रहेको सूचनाको आधारमा अनुसन्धान थाल्दा गौली पक्राउ परेका हुन् ।

उनलाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टेबाजी गर्न गराउन नहुने कसूर अन्तर्गत थप अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएकाे छ ।

प्रारम्भिक अनुसन्धान अनुसार गौली वनएक्स बेटमा सट्टेबाजी गराउन विगत एक वर्षदेखि सट्टेबाजी एजेन्टका रूपमा काम गर्न थालेका थिए ।

"उनले रकम संकलन र भुक्तानी गरेको आधारमा २५ प्रतिशत कमिसन रकम निर्धारण हुने भएकाले बढी रकम संकलन र भुक्तानीको लोभमा विभिन्न व्यक्तिको नाममा वन एक्स बेटको खाता खोली कारोबार गर्ने गरेको पाइएको छ," अपराध अनुसन्धान कार्यालयको विज्ञप्तिमा भनिएको छ, "सो क्रममा गौलीले विभिन्न व्यक्तिका नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि समेत खरिद गरी त्यसबाट विभिन्न वालेटको खाता समेत खोलेको देखिएको छ ।"

ई-सेवा, खल्ती र आईएमईपे सहित विभिन्न ३० डिजिटल वालेट र बैंकिङ प्रणालीमार्फत निजले हालसम्म कुल १० करोड नौ लाख २२ हजार १८४ रुपैयाँ बराबरको कारोबार गरेकाे देखिएको र सो सम्बन्धमा थप अनुसन्धान भइहेको प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका व्यक्तिबाट वनएक्स बेट एप्लिकेसन तथा आईफोन र सामसङ स्मार्टफाेन बरामद गरेको प्रहरीले जनाएको छ ।

"हामी वनएक्स बेटमा सट्टेबाजी गर्ने गराउनेहरूलाई विभिन्न सूचनाका आधारमा अनुसन्धान गरेर पक्राउ गरिरहेका छौं," काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले टेकपानासँग भने, "हामीले फेसबुक र अन्य सामाजिक सञ्जालबाट अनुसन्धान थालेर विभिन्न व्यक्तिहरूलाई निगरानीमा राखेका छौँ ।"

पछिल्लो अध्यावधिक: मंसिर २९, २०७९ १७:४८