नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स स्थापनाको ९ वर्ष पूरा, एक वर्षमा साढे ३ खर्ब बढीको कारोबार
पुस १, २०७९ १४:४३
काठमाडौं । नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम्स (नेप्स) लिमिटेड स्थापना भएको नौ वर्ष पूरा भएको छ । बैंकिङ क्षेत्रका लागि आवश्यक सूचना प्रविधि पूर्वाधार उपलब्ध गराउने उद्देश्यका साथ स्थापना भएको यो कम्पनी दशौँ वर्षमा लागेको हो ।
नेप्सले बैङ्कहरूका लागि कार्डलेस विथड्रल (बिना कार्ड एटीएम मार्फत नगद निकाल्न सकिने प्रविधि), कन्ट्याक्टलेस कार्डस प्रविधि (ट्याप एण्ड पे), ग्रिन पिन (मोबाइल ओटीपी मार्फत एटीएम पिन सेट गर्न सकिने प्रविधि) भित्र्याइसकेको छ ।
यस्तै ईकमर्स कारोबार, सीआरएमम (मसिनबाट नगद जम्मा गर्न सकिने प्रविधि), वेब सर्भिस (मोबाइल तथा इन्टरनेट बैङ्किङ च्यानलका माध्यमबाट ग्राहक स्वयम्ले कार्ड ब्लक, अन ब्लक, पिन रिसेट, मौज्दात जानकारी, पुराना कारोबारको विवरण हेर्न सकिने प्रविधि) समेत कम्पनीले ल्याइसकेको छ ।
त्यस्तै नेप्सले कार्डमा आधारित भुक्तानी सेवा (डिजिटल वालेटमा सम्बन्धित बैङ्क तथा वित्तीय संस्थाका डेबिट वा क्रेडिट कार्ड लिङ्क गरि सोही कार्डबाट खर्च हुने गरि विभिन्न सेवाहरूको भुक्तानी लागि प्रयोग गर्न सकिने प्रविधि) का लागि समेत बैङ्कहरूलाई सघाइरहेको छ ।
यस बाहेक भिसा डाइरेक्ट सेवा (भिसा डेबिट र क्रेडिट कार्डको प्रयोग गरी विभिन्न देशहरूबाट रेमिटेन्स रकम प्राप्त गर्न सकिने प्रविधि) समेत रहेको छ । कम्पनीले वर्षमा ३६५ दिन, २४ सै घण्टा साइबर सुरक्षा प्रत्याभूति गर्न अन्तर्राष्ट्रिय स्तरको सेक्युरिटी अपरेसन सेन्टर (एसओसी) सेवा तथा नियमित भीएपीटी गर्दै आएको उल्लेख गरेको छ ।
कम्पनीले यही आर्थिक वर्षमा पीसीआईडीएसएस, पीसीआईपीईएन र आईओसओ २७००१-२०१३ प्रमाणीकरण समेत पाएको छ । बिहीबार बसेको कम्पनीको नवौँ साधारणसभाले चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउने एक करोड ७६ लाख रुपैयाँ नगद लाभांश पारित गरेको छ ।
वित्तीय विवरण तर्फ नेप्सले चालू आर्थिक वर्षमा २२ करोड १३ लाख ९० हजार रुपैयाँ आम्दानी गरेको छ । जुन गत आवको तुलनामा ३५।७५ प्रतिशतले बढी हो ।
चालू आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले विभिन्न सदस्य बैङ्क तथा वित्तीय संस्थाका ३६ लाख ग्राहकलाई प्रत्यक्ष वित्तीय सेवा प्रवाह गरिसकेको छ । यसक्रममा करिब तीन खर्ब ६६ अर्ब रुपैयाँ नेप्सको प्रणाली मार्फत प्रवाह भएको छ । कम्पनीले हाल देशव्यापी झन्डै दुई हजार एक सय एटीएम, १२ हजार पोसमार्फत विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई सेवा दिँदै आएको छ ।
पछिल्लो अध्यावधिक: पुस १, २०७९ १४:४३
