काठमाडौं । ट्वीटर पोलको नतिजा एलन मस्कको विरुद्धमा गए पद ग्रहण गरेको दुई महिनाभन्दा कम समयमा उनले प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पद छोड्नेछन् । मस्कले सोमबार एक ट्वीट गर्दै, "के मैले ट्वीटर प्रमुखको पद छोड्नुपर्छ ? म यस पोलको नतिजालाई पालना गर्नेछु," भनेका थिए ।
उक्त ट्वीट गरिएको करिब छ घण्टामा ५६ प्रतिशत बढी मानिसले छोड्नुपर्ने मत राखेका छन् । यसको अर्थ अब बाँकी पाँच घण्टामा यति नतिजा कायम भए मस्कले ट्वीटर प्रमुखको पद छोड्ने निश्चित छ । उक्त पोलसहितको ट्वीटपछि मस्क लगातार अन्य ट्वीट गर्दै आफू यस विषयमा आफू गम्भीर भएको बताउँदै आएका छन् ।
यदि आफूले ट्वीटर प्रमुखको पद छोडेको खण्डमा उक्त प्लेटफर्मको भविष्य अस्पष्ट हुने समेत बताएका छन् । ४४ अर्ब डलर तिरेर ट्वीटर आफ्नो स्वामित्वमा लिएपछि मस्क लगातार विवादित बन्दै आएका छन् ।
'फ्रि स्पिच'को विषयलाई लिएर प्रतिबन्धित अकाउन्ट बाहिर ल्याउनेदेखि ससाना कमजोरी हुँदा अकाउन्ट प्रतिबन्ध लगाउने मस्कको निर्णयले धेरै मानिसहरू उनीबाट रुष्ट छन् ।
ट्वीटर खरिद गरेपछि एलन मस्कले सामना गरेका विवाद
-ठूलो सङ्ख्यामा ट्वीटरका कर्मचारी बर्खास्त
-यदि भनेको समयमा काम नसके बाँकी कर्मचारीलाई कम्पनीबाट बर्खास्त गर्ने धम्की दिनु
-ट्वीटर ब्लुका लागि ८ डलर तिर्नुपर्ने नियम ल्याउनु । त्यही फिचरले गर्दा फेक अकाउन्टबाट कयौं कम्पनीको शेयर घट्नुका साथै बदनाम हुनु
-बारम्बार ट्वीटरका नीति परिवर्तन गरेर प्रविधि पत्रकारको अकाउन्ट सस्पेन्ड गर्नु
-प्रतिबन्ध लागेका अकाउन्टलाई फ्रि स्पिचको नाममा प्लेटफर्ममा फिर्ता ल्याउनु (उदाहरणका लागि पूर्वराष्ट्रपति डोनाल्ड ट्रमको अकाउन्ट फिर्ता)
-यसरी ट्वीटरले धेरै विवादको सामना गरेपछि यसका लगानीकर्ता पछि हटिरहेका छन्, जसले गर्दा मस्क बारम्बार कम्पनीको आर्थिक अवस्था कमजोर भएको बताउँदै आएका छन् ।
यसो त अहिले ट्वीटर सीईओविहीन बनेको छ । मस्क आफैं कम्पनीको प्रमुख र सीईओ भएको दाबी गर्छन् । तर पनि उनका ट्वीट हेर्दा मस्कले हालसम्म सीईओका बारेमा नसोचेको स्पष्ट हुन्छ ।
"वास्तवमा ट्वीटरलाई जीवित राख्न सक्ने काम कसैले चाहँदैन । त्यहाँ कुनै उत्तराधिकारी छैन," मस्कले ट्वीट गर्दै भने, "प्रश्न सीईओ खोज्ने होइन, प्रश्न भनेको ट्वीटरलाई जीवित राख्न सक्ने सीईओ खोज्नु हो ।"