close

पब्जी मोबाइल नेसनल च्याम्पियनशिपको फाइनल भृकुटीमण्डपमा हुने

टेकपाना टेकपाना

पुस ४, २०७९ १४:२४

पब्जी मोबाइल नेसनल च्याम्पियनशिपको फाइनल भृकुटीमण्डपमा हुने

काठमाडौं । पब्जी मोबाइल नेसनल च्याम्पियनशिप (पीएमएनसी) नेपाल २०२२ अन्तर्गत फाइनल चरणका सबै खेल भृकुटीमण्डपमा हुने भएको छ । डिसेम्बर २१ र २२ (आउँदो बुधबार र बिहीबार) हुने खेल भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा खेलाइने पब्जीले फेसबुक पेजमार्फत जानकारी दिएको छ ।

यसका साथै पीएमएनसीको फाइनल खेल्ने १६ वटै टिमको पनि टुङ्गो लागेको छ । शुक्रबार भएको सेमिफाइनलमा अङ्क तालिकाको शीर्ष १३ भित्र रहन सफल टिम फाइनलको लागि छनोट भएका हुन् । सेमिफाइनलको खेलमा १३७ पोइन्ट ल्याएर लियो ग्याङ्स्टर शीर्ष स्थानमा रहँदै फाइनल प्रवेश गरेको छ ।

'लियो ग्याङ्स्टर' केही साताअघि भएको सुबिसु अल्टिमेट ब्याटलको विजेता पनि हो । त्यस्तै 'इलुमिनेट क्रु' र 'लर्डएक्स अफिसियल' पनि अङ्क तालिकामा क्रमश दोस्रो र तेस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको छ ।

अन्तिम चरणको खेलमा सेमिफाइनलको अङ्क तालिकाको शीर्ष १३ मा रहेका टिम र तीन आमन्त्रित टिम गरी कुल १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । आमन्त्रित टिममा ‘एब्रप्ट स्लेयर(abrupt slayers)’, ‘ज्यानमारा ई-स्पोर्ट्स’ र ‘द अट्रयाक्स ई-स्पोर्ट्स रहेका छन् ।

यो प्रतियोगिताको कुल पुरस्कार राशि ३० हजार अमेरिकी डलर (करिब ४० लाख नेपाली रुपैयाँ ) राखिएको छ, जसमध्ये विजेताले १० हजार डलर (करिब १३ लाख नेपाली) हात पार्नेछन् । त्यस्तै दोस्रो हुने टिमले पाँच हजार डलर (करिब साढे छ लाख नेपाली) र तेस्रो हुने टिमले ३५ सय डलर (करिब साढे चार लाख नेपाली) पाउनेछन् ।

साथै यो प्रतियोगितामा शीर्ष तीनभित्र रहने टिमले ‘पब्जी मोबाइल प्रो लिग साउथ एसिया स्प्रिङ २०२३’ मा स्थान बनाउनेछन् । दर्शकको लागि फाइनल प्रवेश नि:शुल्क गरिएको छ ।
 

पछिल्लो अध्यावधिक: पुस ४, २०७९ १४:२४