काठमाडौं । स्टार इन्डिया प्रालिले डिशहोममा आउने ३२ ओटै च्यानल बन्द गरेको छ । भुक्तानी गर्ने अन्तिम चरणमा आइपुग्दा कम्पनीले डिशहोममा आउने सबै च्यानल बन्द गरेको हो । तर, यो विषयलाई लिएर स्टार इन्डियाले दादागिरी नै देखाएको डिशहोमको आरोप छ ।
"मन्त्रालयबाट भुक्तानीको स्वीकृति ढिलो आउँदा स्टार इन्डियाले बिना कुनै सूचना सबै च्यानल नै बन्द गरेको छ," डिशहोमका प्रतिनिधिले टेकपानासँग भने, "स्टारले हामीमाथि देखाएको दादागिरी नै हो ।"
नौ वर्षदेखि भुक्तानी ढिलो हुँदा चार पाँच महिनासम्म पर्खिने कम्पनीले यस पटक केही दिन पनि नपर्खेको उनको आरोप छ । प्रयोगकर्ता घट्दै आएको अवस्थामा डिशहोमले शुल्क घटाउन बारम्बार आग्रह गर्दै आएको थियो । तर, शुल्क घटाउनुको साटो बढाउन खोजेको र आफूले नमानेपछि टार्गेट गरेर च्यान बन्द गरेको डिशहोमको भनाइ छ ।
"पहिले प्रयोगकर्ता बढिरहेका थिए । त्यसबेला बढाउँदै शुल्क तिर्यौँ," डिशहोमका प्रतिनिधि भन्छन्, "१२ लाख सक्रिय ग्राहक सङ्ख्या घटेर अहिले पाँच लाख पुगेको छ । यस्तो अवस्थामा पनि स्टार शुल्क बढाउन खोजिरहेको छ ।" विशेषगरी स्टारले आफ्ना कन्टेन्ट सामाजिक सञ्जाल तथा युट्युबमा राख्दै आउँदा त्यसले प्रयोगकर्तामाझ टिभीको आकर्षण घटाएको उनले बताए ।
प्रयोगकर्ता घट्दै गएको अवस्थामा स्टारले बढी शुल्क माग गर्दा यस्तो समस्या आएको उनी बताउँछन् । यता मन्त्रालय तथा राष्ट्र बैंकबाट स्वीकृति ढिलो आएको भए पनि स्टारले मिडियालाई पैसा नदिएर च्यानल बन्द गरेको भन्दै आएको उनले आरोप लगाए । त्यस्तै नेपालमा स्टारले १२ ओटा टिभी प्रदायकलाई च्यानल वितरण गरेको र त्यसमा हालसम्म कसैले पनि पछिल्लो पटक शुल्क नतिरेको उनले जनाए ।
"उनीहरूको १२ ओटा कस्टुमर छ नेपालभरी," उनले भने, "अरू कसैको पनि काटेको छैन । लेटेस्ट पेमेन्ट कसैले पनि गरेको छैन । तर, अरू कसैको पनि काटेको छैन । हाम्रो मात्र काटेको हेर्दा अलि तर्साउन खोजेको जस्तो देखिएको छ । यसरी तर्सायो भने बढेको रेट दिन्छ भन्ने उनीहरूको सोच छ । त्यो भन्दा अरू कारण देखिँदैन ।"
डिश मिडिया नेटवर्कले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेख्दै स्टार इन्डियाले दादागिरी देखाउँदै सिग्नल बन्द गराएको उल्लेख गरेको छ ।
"विदेशी च्यानल प्रदायकमध्ये स्टार इन्डियालाई ३२ च्यानलको हालसम्म १ अर्ब बढी भारतीय रुपैयाँ भुक्तानी गरिसकेका छौँ", डिश मिडियाले मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ, "हाल बाँकी भुक्तानीका लागि राष्ट्र बैंकबाट मंसिर २८ गते अनुमति प्राप्त भएको र पुस १५ गतेअगावै भुक्तानी गर्ने स्टार इन्डियालाई जानकारी दिएका थियौँ ।"
पुस १५ गते अगाडि भुक्तानी गर्ने बताए पनि कम्पनीले बिना कुनै जानकारी मंसिर ३ गते च्यानल बन्द गरेको डिशहोमको भनाइ छ । यसरी च्यानल बन्द गर्नुको कारण बीचमा डिस्ट्रिब्युटर आएर उनको अनुमान छ ।
"यसरी बन्द गर्यो भने कस्टमरबाट प्रेसर बढ्छ भन्ने उनीहरूको सोच छ," उनले भने, "अनि भने जति पैसा दिन्छ भन्ने स्टारको आशा हो । त्यसैले उनीहरूले हामीलाई पेलेकै हो ।"
अधिकांश प्रयोगकर्तालाई स्टारका च्यानल त्यति आवश्यक नपरेको उनी बताउँछन् ।
"हरेक एउटा च्यानलको छ ओटा छुट्टै च्यानल हुन्छन्," उनले भने, "यसको अर्थ स्टारले छ ओटा च्यानल उपलब्ध गराउँदै आएको थियो । हाम्रा अधिकांश ग्राहकलाई ती च्यानल बन्द हुँदा त्यस्तो चाप परेको छैन । बरू ती च्यानल हटाएर शुल्क घटाउनुपर्ने माग बढिरहेको छ ।" स्टार इन्डियाले चाप सिर्जना गरेर बढी पैसा लिन खोजेको भए पनि उनीहरूको योजना सफल नुहुने उनी बताउँछन् ।