close

टेकपाना एक्सक्लुसिभः दशैंअघि यी २ दर्जन सहरबाट सुरु हुँदैछ टेलिकमको फोरजी

टेकपाना टेकपाना

असोज १२, २०७६ २२:१७

टेकपाना एक्सक्लुसिभः दशैंअघि यी २ दर्जन सहरबाट सुरु हुँदैछ टेलिकमको फोरजी

प्रयोगकर्तालाई फोरजी सिम निशूल्क

नेपाल टेलिकमले दशैं अघि नै एक साथ देशरभरका दुई दर्जन बढी सहरबाट फोरजी सेवा सुरु गर्ने भएको छ । १७ पुस २०७३ मै काठमाडौं र पोखराबाट नेपालमै पहिलो पटक फोरजी सेवा सुरु गरेको नेपाल टेलिकमले देशभर सेवा विस्तार गर्ने योजना अन्तरगत राजधानी बाहिरका २६ ओटा सहरबाट फोरजी सेवा सुरु गर्ने भएको हो ।

टेलिकमबाट प्राप्त जानकारी अनुसार पहिलो चरणमा १५ असोजमा एक साथ दमक, विर्तामोड, धरान, विराटनगर, जनकपुर, इटहरी, विरगन्ज, हेटौडा, भरतपुर, बुटवल, नेपालगन्ज, सुर्खेत र धनगढीबाट नयो परियोजना अन्तरगतको फोरजी सेवाको थालनी हुनेछ । यस्तै रौतहट, महोत्तरी, सर्लाही, रुकुम, धनकुटा, पर्वत, पाल्पा, बागलुङ, दाङ र बर्दिया जिल्लाको सदरमुकाममा समेत पहिलो चरणमै फोरजी सेवा सुरु गर्न लागिएको टेलिकमले जनाएको छ ।

काठमाण्डौं र पोखरामा १८ सय मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सीबाट फोरजी सेवा दिइरहेको टेलिकमले नयाँ परियोजना अन्तरगत ८ सय मेगाहरेज ब्याण्डको फ्रक्वेन्सीबाट दिने भएको हो । जसमा आन्तरिक परीक्षणका क्रममा फोरजी इन्टरनेटको गति २ सय एमबीपीएससम्म पाइएको टेलिकम श्रोतले जानकारी दिएको छ ।

१८ सय ब्याण्डको फ्रिक्वेन्सीलाई ८ सय मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीसँग कम्प्याटिबल गरिनेछ । त्यस्तो अवस्थामा १८ सय ब्याण्ड तथा ८ सय ब्यान्ड मध्ये कुनै एकमा मात्रै फोरजी चल्ने मोबाइल सेटमा समेत दुबै ब्याण्डको फोरजीले सपोर्ट गर्ने बताइएको छ ।

२० माघ २०७५ मा एक वर्षभित्रमा देशभर फोरजी सेवा विस्तार गर्ने परियोजनाका लागि टेलिकमले दुई चिनिया कम्पनीसँग करार सम्झौता गरेको थियो । करीब २० अर्ब रुपैयाँ लागतको यो परियोजना टेलिकमको इतिहासमै सबैभन्दा ठूलो परियोजना हो ।

टुजी र थ्रीजीका लागि हाल देशभर रहेका साइटहरुको तुलनामा करीब साढे सात सय बढी साइटहरु फोरजीका लागि तयार हुनेछन् । यसबाट हाल टुजी र थ्रीजी सेवा नपुगेका स्थानमा समेत फोरजी सेवा पुग्नेछ । हाल टुजी र थ्रीजी रहेका साइटहरुमा सुरुमा फोरजी सेवा सञ्चालनमा आउने छ भने बाँकी नयाँ साइटहरुमा टुजी र थ्रीजी भन्दा पहिले फोरजी सेवा पुग्ने सम्भावना छ । ग्रामीण क्षेत्रमा ८ सय मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी प्रयोग हुने भएकाले यसको कभरेज निकै नै धेरै क्षेत्रफलमा हुन्छ ।

टेलिकमको फोरजीमा नयाँ के छ ?

अहिले भाइबर, ह्वाट्सएप, म्यासेन्जर लगायतका ओटीटी सेवाहरुले दूरसञ्चार कम्पनीहरुको भ्वाइस सेवालाई चुनौति दिइरहेका छन् । जसले गर्दा टुजी र थ्रीजीमा रहेको भ्वाइस सेवाको प्रयोग र आम्दानी घट्दै गइरहेको छ । त्यसको सामना गर्नेगरी टेलिकमले एचडी भ्वाइसमा आधारित फोरजी सेवा अर्थात भिओएलटीई सुविधा समेत दिनेछ ।

अहिलेको अवस्थामा हामी डाटा सेवा चलाउँदा मात्रै डिभाइसलाई इन्टरनेटमा कनेक्ट गर्छौँ । तर, अबको टेलिकमको फोरजीमा भने रहबखत मोबाइल डिभाइस इन्टरनेटमा कनेक्ट भइरहनेछ । सेवा सुरु भएपछि प्रयोगकर्तालाई निशूल्क रुपमा फोरजी सिम उपलब्ध गराउने योजना समेत टेलिकमको छ ।

ओटीटी सेवाहरु इन्टरनेट र वाइफाइबाट चल्ने भएकाले त्यति गुणस्तरिय सेवा दिन सकिरहेका हुँदैनन् । तर, फोरजीमा आधारित भिओएलटीई प्रविधिमा भने निश्चित गुणस्तर (क्रिस्टल क्लियर) नभएसम्म कल नै गर्न सकिँदैन । अहिलेको टुजी र थ्रीजी प्रविधिमा भ्वाइसका लागि जति खर्च गर्नुपरिरहेको छ, भिओएलटीइमा त्यो भन्दा निकै सस्तोमा सेवा उपभोग गर्न पाइने टेलिकमका वरिष्ठ इन्जिनियर सुशन श्रेष्ठले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३