close

सबै ग्राहकलाई १ वर्षभित्र नयाँ प्रविधि आईपीभी सिक्समा रुपान्तरण गर्दै वर्ल्डलिंक

टेकपाना टेकपाना

भदौ ५, २०७७ १९:३६

सबै ग्राहकलाई १ वर्षभित्र नयाँ प्रविधि आईपीभी सिक्समा रुपान्तरण गर्दै वर्ल्डलिंक

काठमाडौं । यसै आर्थिक वर्षको अन्त्यसम्म वर्ल्डलिंकले आफ्ना सबै ग्राहकलाई आईपीभी सिक्समा लैजाने भएको छ । ग्राहकमाझ गुणस्तरीय इन्टरनेट सेवा पुर्‍याउने उद्देश्यका साथ कम्पनीले महत्वाकांक्षी योजना सार्वजनिक गरेको हो । 

एकअर्कासँग सम्पर्क स्थापित गर्न इन्टरनेटमा जोडिएका हरेक उपकरणलाई आईपी एड्रेस आवश्यक हुन्छ । यो एउटा यस्तो ठेगाना हो, जसलाई इन्टरनेट प्रोटोकल (आईपी) एड्रेस भनिन्छ ।

आईपी एड्रेसका दुई संस्करण हुन्छन्  । एउटा भर्सन फोर (भी फोर) हो भने अर्को भर्सन सिक्स (भी सिक्स) हो । जसलाई एड्रेस इन्टरनेट असाइन नम्बर अथोरिटी (आईएएनए) नामक अन्तर्राष्ट्रिय निकायले वितरण गर्दै आएको छ ।

सुरुको भर्सन भी फोरमा चार अर्ब ३० करोड वटा पब्लिक एड्रेसहरु छन् । जसका कारण यसको कोटा २०११ को अप्रिल १५ मा नै समाप्त भयो । 

परिणामत: पब्लिक भी फोरको अभावको समस्यालाई निराकरण गर्न अधिकांश इन्टरनेट सेवाप्रदायकहरु अहिले प्राइभेट एड्रेसिङको प्रयोगका लागि नेटवर्क एड्रेस ट्रान्सलेसन (एनएएटी) प्रविधिमा निर्भर छन् ।  

यो प्रोटोकलको पछिल्लो संस्करण भनेको आईपीभी सिक्स हो । यसले संसारभर जोडिएका हरेक उपकरणको सञ्चारका लागि युनिक राउटेबल पब्लिक एड्रेस असाइनका लागि अनुमति दिन्छ ।

आईपीभी सिक्सभित्र आईपी एड्रेस यति धेरै छन् कि जुन कहिल्यै समाप्त हुने छैनन् । जसले गर्दा विश्वमा इन्टरनेटसँग जोडिने हरेक डिभाइसका लागि यसले छुट्टाछुट्टै राउट गर्न सकिने एड्रेस असाइन गर्ने क्षमता राख्छ । 

यसमा एनएटी प्रविधिको आवश्यकता नहुने हुँदा यो आईपीभी सिक्समा आईपीभी फोरको तुलनामा इन्टरनेट एक्सेस राम्रो हुन्छ । हाल गूगल, फेसबुक जस्ता कन्टेन्ट सेवा प्रदायकहरुले आईभी सिक्समा समेत कन्टेन्ट प्रदान गर्दै आएका छन् ।

जसलाई हरेक इन्टरनेट सेवा प्रदायकहरुले आफ्ना प्रयोगकर्तासम्म पुर्‍याइरहेका हुन्छन् ।उपकरणको ईकोसिस्टममा पनि भी सिक्स र भी फोर दुवै इनेबल हुँदा प्रयोगकर्ताको डिभाइसमा हुने ब्राउजर एप्लिकेसनहरुले स्वचालित रुपमा भी सिक्सलाई नै प्राथमिकतामा राखिरहेका हुन्छन् । 

विर्ल्ड लिंक नेपालको पहिलो इन्टनेट सेवा प्रदायक (आईएसपी) हो, जसले जुलाई २०१९ मा आईपीभी सिक्सलाई इनेबल गरेको थियो । विश्वमा कमै मात्र आईएसपीहरुले यसलाई इनेबल गरेका छन् ।

भी सिक्समा जाँदा हामीले अलि बलियो नेटवर्क पाउन सक्छौं भने ग्राहकलाई उत्कृष्ट इन्टरनेट सेवा दिन सेवाप्रदाकहरुका लागि रिमोट ट्रबलशूटिङ सजिलो बनाइदिन्छ । अहिले विश्वसँगै नेपाल पनि इन्टरनेट अफ थिङ्स (आईओटी)मा गइरहेको अवस्थामा त्यसलाई वृहत् बनाउन यस किसिमको तयारीलाई ठूलो विकासको संकेत मान्न सकिन्छ ।

वर्ल्डलिंकका अनुसार हाल कम्पनीका चार लाख ग्राहकहरुमध्ये एक लाख ५५ हजार भी सिक्स प्रोटोकल नेटवर्कमा गइसकेका छन् । वर्ल्डलिंकले डेलिभर गर्ने कुल इन्टरनेट ट्राफिकको २० प्रतिशत अर्थात् १६५ जीबी इन्टरनेट ट्राफिक भी सिक्सका प्रयोगकर्ताहरुले प्रयोग गर्छन्  

एसिया प्रशान्त नेटवर्क इन्फर्मेसन सेन्टर (एपीएनआईसी) गूगल र  फेसबुकको तथ्याङ्क अनुसार हाल विश्वको करिब २६ प्रतिशत नेटवर्क भी सिक्समा छ । यस्तै नेपालको ११ प्रतिशत नेटवर्क आईपीभी सिक्स गएको छ ।

जसमा सबैभन्दा धेरै योगदान आफ्नै रहेको वर्ल्डलिंकको दाबी छ । यसले इन्टरनेटलाई छिटो र व्यापक मात्र हैन सरकारी तथा नियामक निकायहरुलाई गैरकानूनी गतिविधि ट्रयाक गर्न समेत सजिलो बनाएको छ ।

साथै यसले इन्टरनेट सुरक्षा समेत बढाउन मद्दत गरेको छ । तर एनएटीको आईपीभी फोरमा भने गैरकानूनी गतिविधि ट्र्याक गर्न निकै गाह्रो हुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३