close

आईपीभी सिक्स प्रविधि प्रयोगमा क्लासिक टेक अगाडि, दोस्रोमा वर्ल्डलिंक

टेकपाना टेकपाना

भदौ ५, २०७७ २२:०

आईपीभी सिक्स प्रविधि प्रयोगमा क्लासिक टेक अगाडि, दोस्रोमा वर्ल्डलिंक


काठमाडौं । इन्टरनेट प्रोटोकल (आईपी) को भर्सन सिक्स आत्मसाथ गर्नेमा क्लासिक टेक अगाडि देखिएको छ । ग्राहक संख्यामा वर्ल्डलिङ्कभन्दा केही पछि भए पनि ग्राहकलाई नयाँ प्रविधिमा सेवा दिनेमा क्लासिक टेक अघि देखिएको हो ।

आईपीभी सिक्स इन्टरनेट प्रोटोकलको नयाँ भर्सन हो । एकअर्कासँग सम्पर्क स्थापित गर्न इन्टरनेटमा जोडिएका हरेक उपकरणलाई आईपी एड्रेस आवश्यक हुन्छ ।

यो एउटा यस्तो ठेगाना हो, जसलाई इन्टरनेट प्रोटोकल (आईपी) एड्रेस भनिन्छ । हालसम्म आईपी एड्रेसका दुई संस्करण प्रचलनमा आएका छन् ।

त्यसमा एउटा भर्सन फोर (भी फोर) हो भने अर्को भर्सन सिक्स हो । भी फोर ३२ बिटको हुन्छ । जसमा चार अर्ब ३० करोड वटा पब्लिक एड्रेसहरु रहेका छन् । जसको कोटा यस अघि नै समाप्त भइसकेको छ ।

त्यसपछिको नयाँ प्रविधिका रुपमा आईपीभी सिक्स आएको हो । जुन १२८ बिटको रहेको छ । असिमित पब्लिक एड्रेस रहने भएकाले यो जति मात्रा प्रयोग गरे पनि हुन्छ । तर, अझै पनि नेपाल लगायतका कतिपय देशमा आईपीभी फोर नै प्रयोग हुँदै आएको छ ।

आईपीभी फोर समाप्त भएता पनि अधिकांश इन्टरनेट सेवाप्रदायकहरु अहिले प्राइभेट एड्रेसिङलाई आधार मानेर नेटवर्क एड्रेस ट्रान्सलेसन (एनएएटी) प्रविधिमै काम चलाइरहेका छन् ।

विश्वप्रशिद्ध जर्नल एमडीपीआईमा प्रकाशित अनुसन्धान प्रतिवेदनले पनि नेपालको ब्रोडब्याण्ड विस्तारका लागि चालु सरकारी परियोजना तथा सेवाप्रदायकले पुराना उपकरण तथा प्रविधि प्रयोग गरिरहेको तथ्य बाहिर ल्याएको थियो ।

अनुसन्धानले परियोजना कार्यान्वयनका सन्दर्भमा आईपीभी सिक्स प्रविधि आत्मसाथ गरेर जानु मुलुक, जनता र सेवाप्रदायक सबैको हीतमा हुने उल्लेख गरेको छ । आईपीभी सिक्सले संसारभर जोडिएका हरेक उपकरणको सञ्चारका लागि युनिक राउटेबल पब्लिक एड्रेस असाइनका लागि अनुमति दिने भएकाले पनि यसको प्रयोग आवश्यक भएको हो ।

त्यतिमात्रै नभएर यसमा एनएटी प्रविधिको आवश्यक नपर्ने हुँदा यो आईपीभी सिक्समा आईपीभी फोरको तुलनामा इन्टरनेट एक्सेस राम्रो हुन्छ । साथै सुरक्षाका दृष्ट्रिकोणले समेत यसलाई बढी प्रभावकारी मानिन्छ ।

त्यसैले अबका दिनमा आईपीभी सिक्स प्रविधि आत्मासाथ गर्नुको अर्को विकल्प अध्ययन प्रतिवेदनमा उल्लेख छ । त्यसैअनुसार नेपालका इन्टरनेट सेवा प्रदायक विस्तारै आईपीभी सिक्समा जान थालेका हुन् ।

जसमा प्रयोगकर्तालाई आईपीभीसिक्सको सुविधा दिनेमा मामिलामा क्लासिक टेक सबैभन्दा अघि रहेको छ । एप्निक डट नेटको तथ्याङ्क अनुसार हाल नेपालमा आईपीभी सिक्स प्रविधि आत्मसाथ गर्ने सात वटा सेवा प्रदायक मात्रै छन् । जसमा क्लासिक टेक, वर्ल्डलिंक, स्मार्ट टेलिकम, टेकमाइन्डस्, एनसेल, नेपाल टेलिकम र भायनेट रहेका छन् ।

संस्थाले क्लासिक टेकका १३७६ युजर, वर्ल्डलिंकका १० हजार दुई सय ९३, स्मार्टका २१९, टेकमाइण्डका १३२२ एनसेलको १५५७, नेपाल टेलिकमको ३९५० र भायनेटका ३२९७ प्रयोगकर्ताको नमूना लिएको थियो ।

उक्त परीक्षणबाट क्लासिक टेकका ३८.३७ प्रतिशत, वर्ल्डलिंकका २५.८३ प्रतिशत, स्मार्टका ०.४६ प्रतिशत, टेकमाइन्डका ०.१५, एनसेलका ०.०६ प्रतिशत, नेपाल टेलिकमका ०.०३ प्रतिशत ग्राहक आईपीभी सिक्स प्रविधिमार्फत जोडिएको देखाएको छ ।

एप्निककै उक्त अध्ययनका अनुसार हालसम्म क्लासिक टेकका ७७ हजार ८३० प्रयोगकर्ताले आईपीभी सिक्स प्रविधि प्रयोग गरिरहेका छन् । कुल दुई लाख ४९ हजार ९६२ प्रयोगकर्तामध्ये कम्पनीका ३१ प्रतिशत प्रयोगकर्ता ईपीभी सिक्स प्रविधिमा आधारित रहेका छन् ।

त्यस्तै प्रयोगकर्ताको आधारमा पहिलो नम्बरमा रहेको वल्डलिंक आईपीभी सिक्स प्रविधि अवलम्बन गर्नेमा भने पछाडि परेको देखिन्छ । उक्त अध्ययन अनुसार हाल वर्ल्डलिङ्कका १८ लाख १६ हजार २२१ प्रयोगकर्ता रहेका छन् । त्यसमध्ये २४.४१ प्रतिशतमात्रै आईपीभी सिक्स प्रविधिमा आधारित छन् ।

यसको अर्थ हालसम्म वर्ल्डलिङ्कका चार लाख ४३ हजार ३९८ प्रयोगकर्ता आइपीभी सिक्स प्रविधि प्रयोग गरिरहेको देखिन्छ । संख्याको हिसाबमा धेरै देखिएता पनि प्रतिशतको हिसाबमा भने वर्ल्डलिङ्क पछि परेको हो ।

यी दुवै सेवा प्रदायकले आगामी दिनमा आफ्ना ग्राहकलाई आईपीभी सिक्समा आधारित सेवा प्रदान गर्ने जनाइसकेका छन् । तर, अन्य सेवा प्रदायकको हकमा भने आईपीभी सिक्स प्रविधिको प्रयोग खासै नदेखिएको उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३