काठमाडौं । गूगलले मंगलबार एन्ड्रोइड इलाभेन सार्वजनिक गरेको छ । कनेक्टेड डिभाइसका लागि नयाँ स्क्रीन कन्ट्रोल, रिडिजाइन गरिएको मिडिया कन्ट्रोल, सुधारिएको नोटिफिकेसन, नयाँ म्यासेजिङ फिचर, गोपनीयता संरक्षण जस्ता महत्वपूर्ण फिचर रहेको एन्ड्रोइडको पछिल्लो भर्सन कसरी इन्स्टल गर्ने भन्नेबारेमा आज हामी तपाईंलाई बताउँदै छौं ।
तपाईंले कुन कम्पनीको फोन चलाइरहनु भएको छ भन्ने आधारमा यो अपडेट ढिलो चाँडो प्राप्त गर्न सक्नुहुनेछ । गूगलका अनुसार हाललाई पिक्सेल टू तथा त्यसपछिका भर्सन, वान प्लस, साओमी, ओप्पो र रियलमी फोनले यो अपडेट प्राप्त गर्न सक्छन् ।
यद्पी यी स्मार्टफोनमा बेटा भर्सन मात्र प्राप्त गर्न सकिनेछ । जसको प्रयोग सावधानीपूर्व गर्नुपर्ने हुन्छ । गूगलले गत फेब्रुअरीमा एन्ड्रोइड इलाभेनलाई डेभलपर प्रिभ्यूका लागि उपलब्ध गराएको थियो ।
यसका लागि सुरुमा आफ्नो फोनको सेटिङमा जानुहोस् । उदाहरणको रुपमा यदि तपाईंसँग साओमीको स्मार्टफोन छ भने अबाउट फोनमा जानुहोस् । त्यसमा रहेको सिस्टम अपडेटमा ट्याप गरी अपडेट उपलब्ध भए नभएको जाँच्न गर्नुहोस् ।
वानप्लसका लागि सेटिङमा गएर सोझै सिस्टम अपडेटबाट उपलब्ध अपडेट बारे जानकारी लिन सक्नुहुनेछ । यदि अपडेट उपलब्ध छ भने अन्य अपडेटमा जस्तै इन्स्टलेसनको प्रक्रिया अपनाउनुहोस् ।
यस क्रममा तपाईंले फोन चार्जमा राखेर बलियो वाईफाई सिग्नलसँग कनेक्ट गराएर राख्नु भयो भने यो प्रक्रिया निकै सहज हुनेछ ।