close

फोरजी फ्रिक्वेन्सीका लागि एनसेलकै मूल्य तिर्न टेलिकम तयार

टेकपाना टेकपाना

असोज १८, २०७७ १६:३१

फोरजी फ्रिक्वेन्सीका लागि एनसेलकै मूल्य तिर्न टेलिकम तयार

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकम एनसेलले तिरेकै मूल्यमा १८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी लिन तयार भएको छ । फोरजीका लागि आवश्यक १८ सय मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीका लागि टेलिकम बोलकबोलबाट तय भएको नयाँ मूल्य तिर्न तयार देखिएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकमबाट फ्रिक्वेन्सीका लागि नयाँ माग आएको पुष्टी गरेको छ । यस अघि टेलिकमले बोलकबोल अगाडिको पुरानै मूल्यमा फ्रिक्वेन्सी उपलब्ध गराइदिन भन्दै रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिमा आवेदन दिएको थियो ।

सोही विषयमा छलफल गर्दै गत साउन २३ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडा अध्यक्ष रहेको समितिले बोलकबोलबाट तय भएको नयाँ मूल्यमा फ्रिक्वेन्सी दिने निर्णय लिएको थियो ।

उक्त निर्णयपश्चात प्राधिकरणले पनि टेलिकमलाई सोही अनुसारको पत्र पठाएर जानकारी गराएको थियो । त्यसै अनुसार अहिले टेलिकमबाट एनसेलले कबोल गरेको मूल्य तिर्न तयार रहेको भन्दै पत्र प्राप्त भएको प्राधिकरणका निर्देशक अम्बर स्थापितले जानकारी दिए ।

अब यसका लागि आवश्यक प्रक्रिया अघि बढ्नेछ । यसअघि फ्रिक्वेन्सी देशकोे सम्पत्ति भएकाले पनि यसको मूल्य बोलकबोलबाट तय हुनुपर्ने धारणका साथ गत फागुनमा नेपालमै पहिलो पटक फ्रिक्वेन्सीका लागि बोलकबोल भएको थियो ।

उक्त बोलकबोलमार्फत एनसेलले १८ सय मेगाहर्जका लागि प्रति मेगाहर्ज ५ करोड ८० लाख रुपैयाँमा ९ मेगाहर्ज फ्रिक्वेन्सी हात पारेको थियो । तर, यसको आधारभूत मूल्य अर्थात दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी बाँडफाँड तथा मूल्य सम्बन्धी नीति २०६९ अनुसार प्रति वर्ष प्रति मेगाहर्ज (अनपेयर्ड) एक करोड ८० लाख रुपैयाँ मात्रै रहेको छ ।

कुल ७५ मेगाहर्ज फ्रिक्वेन्सी रहेको १८ ब्याण्डमा हाल वितरण हुन बाँकी फ्रिक्वेन्सी सात मेगाहर्ज मात्रै छ । टेलिकमले पाँच मेगाहर्ज फ्रिक्वेन्सी प्राप्त गरेपछि यसमा केवल दुई मेगाहर्ज मात्र बाँकी रहनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०