काठमाडौं । सरकारी वेबसाइट र सूचना व्यवस्थापन गर्ने राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भर स्टोरेजमा समस्या आउँदा आइतबारदेखि सरकारी वेबसाइटमा समस्या देखिएको छ । जसले गर्दा सरकारी साइट नखुल्ने, खुलेका साइटहरु पनि खुल्न समय लाग्नेजस्ता समस्या देखिएको हो ।
आइतबारबाट देखिएको उक्त समस्यामा हाल काम भइरहेको केन्द्रका प्रवक्ता रमेशप्रसाद पोखरेलले बताएका छन् । पोखरेलका अनुसार सर्भरको स्टोरेजमा एक्कासी समस्या आउँदा यस्तो अवस्था आएको हो ।
सर्भरमा रहेका चार पाँच वटै स्टोरज क्रयाश भएका छन् । जसले गर्दा सरकारी वेबसाइटको डेटा नै उड्न पुगेको थियो ।
हालसम्म उक्त समस्याको कारण पत्ता लाग्न नसकेता पनि रिकभरीको काम भइरहेको उनले जानकारी दिए । पोखरेलका अनुसार हालसम्म झन्डै ८० प्रतिशत वेबसाइटको डेटा रिकभर गर्ने काम भइरहेको छ ।
सरकारी तथ्यांक ब्याकअप राख्नका लागि हेटौंडामा स्थापना गरिएको डेटा रिकभरी सेन्टरको तथ्यांकबाट रिस्टोर गर्ने काम भइरहेको पोखरेलले जानकारी दिए । उनका अनुसार अझै २० प्रतिशत अर्थात झन्डै ४० भन्दा बढी वेबसाइट रिकभर हुन बाँकी छन् ।
रिकभर हुन बाँकी रहेका वेबसाइटमा धेरैजसो स्थानीय तहका रहेका छन् । उनका अनुसार रिकभरीको कार्य मंगलबार बेलुकासम्म सम्पन्न हुनेछ ।