सामाजिक सन्जाल ट्विटरले अबदेखी राजनीतिक उद्देश्य प्रेरित कुनै पनि किसिमको बिज्ञापनमा बन्देज लगाउने भएको छ । ट्विटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सीले बुधबार एक ट्विट लेख्दै यस्तो जानकारी दिएका हुन ।
‘हामीले विश्वभर नै ट्विटरमा राजनीतिक बिज्ञापनमा प्रतिबन्ध लगाउने निर्णय गरेका छौं’ उनले लेखेका छन्, ‘राजनीतिक सन्देशको पहुँच आफैं बनाउनुपर्छ न कि खरिद ।’
राजनीतिक सन्देशको पहुँच व्यक्तिको अकाउन्ट फलो गरेर अथवा रिट्विटबाट बढ्ने आफ्नो मान्यता रहेको उनले बताएका छन । यस किसिमका सन्देशहरू पैसाबाट फैलन नहुने विषयमा आफू प्रस्ट रहेको उनले जनाएका छन् ।
We’ve made the decision to stop all political advertising on Twitter globally. We believe political message reach should be earned, not bought. Why? A few reasons…?
ट्विटरका प्रमुख वित्तिय अधिकृत नेड सेगालका अनुसार गत बर्ष राजनीतिक बिज्ञापनबाट कम्पनीले ३० लाख डलर आम्दानी गरेको थियो । यद्यपि ट्विटरले यो निर्णय पैसाका आधारमा नभई सिद्धान्तका आधारमा गरेको जनाएको छ ।
ट्विटरको पछिल्लो निर्णयले राजनीतिक बिज्ञापनका कारण बारम्बार आलोचना खेपिरहेको फेसबुकलाई भने दबाब सिर्जना भएको छ । यद्यपि ट्विटरको निर्णयलाई उल्लेख नगरी फेसबुक सस्थापक मार्क जुकरबर्गले प्रजातन्त्रमा निजी कम्पनीहरुले राजनीतिक नेता तथा समाचारमा प्रतिबन्ध लगाउन नहुने धारणा राखेका छन् ।