काठमाडौं । ब्राजिलको सरकारले आफ्नो प्राइभेट कम्युनिकेसन नेटवर्कको उपकरण आपूर्तिमा ह्वावेलाई रोक लगाउने भएको छ । फाइभजीमाथि काम गरिरहेको संसदीय कार्यदलको मंगलबारको सार्वजनिक सुनुवाईमा सञ्चारमन्त्री फेबियो फारियाले त्यस्तो निर्णय सुनाएका हुन् ।
आगामी दिनमा हुने फाइभजी अक्सनका विजेताहरुले सेटअप गर्ने उक्त सरकारी नेटवर्क परियोजनाका लागि ह्वावे उपयुक्त नभएको मन्त्री फारियाले बताएका हुन् । मन्त्रीका अनुसार ब्रजिलियन दूरसञ्चार संस्था एनाटेलले तय गरेको आधारभूत आवश्यकतालाई ह्वावेले पुरा नगर्ने हुँदा त्यस्तो निर्णय गरिएको हो ।
त्यसो त जेर बोल्सोनारोको सरकारले ब्राजिलभित्र कुनै पनि संस्था वा मुलुकलाई व्यवसाय गर्नबाट रोक लगाउँदैन । तर सरकारले केही मापदण्डहरु भने तय गरेको छ । कुनै पनि आपूर्तिकर्ताले ब्राजिलको कर्पोरेट गभर्नेन्स नियमको पालना गर्नुपर्छ ।
फरियाका अनुसार ब्राजिल सरकारले हालै फाइभजी उपकरणका मार्केट लिडरहरुको मुलुक र सरकारहरुसँग भेट गरेको थियो । उक्त यात्रामा ह्वावेले सरकारी नेटवर्कका लागि उपकरण आपूर्ति गर्न खासै अभिरुचि नदेखाएको ब्राजिल टोलीले पाएको मन्त्री फारियाले बताए ।
सो टोलीले नोकिया, इरिक्सन ह्वावे र एनईसीजस्ता ठूला कम्पनीहरुको भ्रमण गरेको थियो । भ्रमणमा ती सबै कम्पनीहरुले साइबर सुरक्षामा भारी लगानी गरेको पाइएको थियो । यद्यपि ती उपकरणहरुमा सुराकीका सिस्टमहरु पनि सम्मिलित गराएको हुनसक्ने कुरामा ब्राजिल सरकारको आशंका छ ।
तर ब्राजिल सरकारको पछिल्लो वक्तव्यपछि ह्वावेले आफूले ब्राजिलमा पारदर्शिता र नियममा रहेर २३ वर्षदेखि काम गर्दै आइरहेको बताएको छ ।
गत जनवरीमा मात्र ब्राजिलमा फाइभजी कार्यान्वयनका लागि ह्वावेले पूर्वराष्ट्रपति तथा संवैधानिक कानूनी प्राध्यापक तथा अधिवक्ता मिकेल टिमरलाई आफ्नो संस्थामा आबद्ध गराइएको थियो ।
संयुक्त राज्य अमेरिका र कतिपय युरोपेली मुलुकले चिनियाँ कम्पनी ह्वावे प्रविधिमाथि प्रतिबन्ध लगाएका कारण ब्राजिलले के निर्णय गर्ला भन्ने जिज्ञासा धेरैकाे थियाे ।