close

डलर कार्ड ह्याक गरेर अनधिकृत भुक्तानी

टेकपाना टेकपाना

चैत ११, २०७७ २०:४१

डलर कार्ड ह्याक गरेर अनधिकृत भुक्तानी

काठमाडौं । यूजी बजारका सहसंस्थापक किरण तिम्सिनाको डलर कार्ड ह्याक भएको छ । बुधबार बिहान ११ बजेर २७ मिनेटमा आफ्नो डलर कार्ड (क्रेडिट कार्ड) बाट गुगल एड्समा २२२ डलर अर्थात् नेपाली रुपैयाँ २५ हजार ६५८ रुपैयाँ अनधिकृतरुपमा भुक्तानी भएको तिम्सिनाले बताएका छन् ।

आफ्नो अकाउन्टमा कार्ड एड गर्दा मोबाइलमा ओटीपी कोड आउनुपर्ने थियो, तर त्यो कोड पनि नआई कारोबार भएको म्यासेजमात्र आएको तिम्सिनाले टेकपानालाई बताए ।

यूजी बजारका प्रमुख प्राविधिक अधिकारीसमेत रहेका तिम्सिनाले उक्त कार्ड डिटेल आफ्नाे व्यक्तिगत कार्ड भएको बताए ।

कार्डको डिटेल कार्ड एप डेभलपर र होस्टसँग हुने हुँदा उनीहरुसँग सम्पर्क गर्दासमेत केही लिड नपाएपछि कार्ड नै ह्याक भएको आशंका उनले गरेका छन् । 

गुगल अकाउन्टमा कार्ड डिटेल लिङ्क भएपनि आफूले कहिल्यै पनि गुगल एडमा भुक्तानी नगरेको उनी बताउँछन् । तर उक्त कसले र कसका लागि भुक्तानी गरेको थियो भन्ने कुरा थाहा नपाएकाे उनले बताए । 

तिम्सिनाले यसबारे नविल बैंकमा कम्प्लेन फाइल गरी कार्डसमेत ब्लक गरिसकेको बताए । यसअघि आफ्नो हिमालयन बैंकको डलर कार्ड पनि ह्याक भएको उनले सुनाए ।

यसबारे नविल बैंकका प्राविधिक अधिकारी निरज शर्मासँग कुरा गर्दा उनले कार्ड सिस्टम ह्याक नहुने बताए ।

कहिलेकाहिँ गुगलको अन्य सेवा लिएको छ भने गुगलले बिना जानकारी रिकरिङ पेमेन्ट काट्दा यस्तो हुनसक्ने शर्माले बताए । 

यदि सेवाग्राहीको अनधिकृत भुक्तानी भएको हो भने बैंकको मास्टर, भिजाकार्ड डिस्प्युट मेकानिजम हुने र त्यसैअन्तर्गत प्रक्रिया अगाडि बढाएपछि अनधिकृत भएको ठहर भए पीडितले चार्जब्याक पाउने शर्माले जानकारी दिए ।

तर सबै ठाउँमा भूक्तानीको समयमा ओटीपी कोड नआउने सिस्टम पनि भएको उनले बताए । नेपालमा ओटीपी भए पनि विदेशतिर ओटीपी कोड आउँदै त्यहाँ एडजस्ट भेरिफिकेसन मेथडमा कारोबार हुने शर्मा बताउँछन् ।

यो कार्ड हालैको नयाँ व्यवस्था अन्तर्गत जारी गरिएको डलर प्रिपेड कार्ड भने होइन ।

(नाेटः समाचारमा गुगल एड हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएकाे छ । सं.)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१