close

गुगल क्रोमको नयाँ फिचर, वेब पेजमा सेलेक्ट गरिएका टेक्स्ट शेयर गर्न छुट्टै लिंक

टेकपाना टेकपाना

बैशाख ५, २०७८ १७:२३

गुगल क्रोमको नयाँ फिचर, वेब पेजमा सेलेक्ट गरिएका टेक्स्ट शेयर गर्न छुट्टै लिंक

काठमाडौं । हामीले प्राय: वेबसाइटमा मन परेका कुरा सेलक्ट गर्ने गर्छाैं । त्यस्ता कन्टेन्टलाई साथीभाइसँग पनि शेयर गरिरहेका हुन्छौं ।

अब भने उक्त सेलेक्टेड कन्टेन्टलाई लिंकको रुपमा पठाउन सकिने भएको छ । गुगलले हालै क्रोमको नयाँ भर्सन सार्वजनिक गरेको छ ।

नयाँ भर्सन क्रोम ९० मा गुगलले यो फिचर उपलब्ध गराएको हो । यो फिचर भने केही सीमित प्रयोगकर्तामाझ मात्रै उपलब्ध छ । हाल परीक्षणको रुपमा कम्पनीले यो फिचर उपलब्ध गराएको हाे ।

यसअघि कम्पनीले यो फिचर एक्स्टेन्सनको रुपमा उपलब्ध गराएको थियो । अब भने यो फिचर क्रोममै उपलब्ध भएको हो ।

कम्पनीका अनुसार यो फिचर चाँडै सबै प्रयोगकर्तामाझ उपलब्ध हुनेछ । यसपछि प्रयोगकर्ताले आफूलाई आवश्यक कन्टेन्ट सेलेक्ट गरी त्यसमा राइट क्लिक गर्दा त्यहाँ ‘कपी लिंक टु हाइलाइट’ भन्ने अप्सन देखापर्नेछ ।

उक्त अप्सनमा क्लिक गर्दा ह्यासट्यागबाट अन्त्य भएको लिंक निर्माण हुनेछ । जुन तपाईंले अन्य साथीभाइलाई लिंकको रुपमा शेयर गर्न सक्नुहुन्छ । उक्त लिंक खोल्दा वेब पेजमा सेलेक्ट भएको कन्टेन्ट खुल्ने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१