काठमाडौं । नेपाल टेलिकमले ६६ जिल्लामा विस्तार भएकाे आफ्नो फाइबर नेटवर्क सहप्रयाेगका लागि खुला गरेको जनाएको छ ।
टेकपाना डटकमले आयोजना गरेको दूरसञ्चार क्षेत्रको नीतिगत बहस श्रृङ्खला अन्तर्गत ‘दूरसञ्चार पूर्वाधारको सहप्रयोग’ कार्यक्रममा बोल्दै टेलिकमका प्रबन्धक डा. विमल आचार्यले यस्ताे बताएका हुन् ।
उनका अनुसार हाल टेलिकमसँग देशका ६६ जिल्लामा फाइबर नेटवर्क विस्तार भएकाे छ । उक्त फाइबर नेटवर्क प्राविधिक रुपमा सम्भव भएसम्म शेयर गर्ने गरी टेलिकमबाट निर्णय भइसकेको आचार्यले बताएका छन् ।
आचार्यका अनुसार टेलिकमले यसका लागि प्राधिकरणले तोकेको मूल्यमा सबैलाई फाइबर शेयर गर्नेछ । त्यसका लागि हाल टेलिकमले फाइबर मनिटरिङ सिस्टम जडानको काम गरिरहेकाे उनले बताए ।
‘यो हुनेबित्तिकै सेवाप्रदायकले फाइबर प्रयोगका लागि माग गरेको खण्डमा टेलिकम शेयर गर्न तयार हुनेछ । यसका लागि अब केही हप्तामात्रै पर्खिनुपर्ने हुन्छ,’ उनले भने ।