close

स्काइप बन्द गर्दै माइक्रोसफ्ट !

टेकपाना टेकपाना

असार १३, २०७८ १९:१४

स्काइप बन्द गर्दै माइक्रोसफ्ट !

काठमाडौं । हामीमध्ये धेरैले सुनेको र प्रयोग गरेको भिडिओ कलिङ टुल हो, स्काइप । आज बजारमा जुम, गुगल मिट, माइक्रोसफ्ट टिम्सजस्ता नयाँ प्लेटफर्मको चर्चा भइरहँदा पुरानो स्काइपबारे वास्ता हुन छाडेको छ । कुनै समय विदेशमा रहेका आफन्तसँग होस् या अनलाइन मिटिङ, स्काइप नै सर्वाधिक प्रयोगमा आउँथ्यो ।

सबैमाझ लाेकप्रिय बनेकाे स्काइप आज कोभिड-१९ महामारीका बेलामा भने अस्ताएकाे छ । यो विषय सबैका लागि चासोको विषय हो । माइक्रोसफ्टकै एउटा उत्पादनको रुपमा रहेको स्काइप हराउँदा कम्पनीकै अर्को प्रडक्ट टिम्स भने विस्तार भइरहेको छ ।

कम्पनीले पनि टिम्स विस्तारको लागि गरेको लगानीले स्काइप अझ पछाडि परिरहेकाे छ । माइक्राेसफ्टले अन्ततः स्काइप पूर्णरूपमा बन्द गर्न लागेकाे त हाेइन भन्ने प्रश्व उब्जिएका छन् ।

यसैबीच माइक्रोसफ्टले सार्वजनिक गरेको नयाँ विण्डाेज ११ ले अझ त्यसलाई प्रमाणित गर्न सहयोग पुर्‍याएकाे छ । अहिले विण्डाेज ११ को प्रारम्भिक संस्करण डाउनलोड गरेर प्रयोग गर्ने पनि धेरै भइसकेका छन् ।

यस्तोमा कम्पनीले उपलब्ध गराएको नयाँ भर्सनमा यसअघि जस्तो स्काइप प्रि-इन्स्टल भएर आएको छैन । जबकि कम्पनीले भिडियो टुलको रुपमा टिम्स प्रि–इन्स्टल गरी उपलब्ध गराएको छ ।

यसले पनि कम्पनी अब स्काइपबाट पूर्णरुपमा बाहिरिने तयारी गरिरहेको हुनसक्ने अनुमान गर्न सकिन्छ । यसैबीच कतिपयले स्काइपलाई ‘बाईबाई’ र ‘रिप स्काइप’ समेत भन्न भ्याएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५