काठमाडौं । नेपालका आलोक पाण्डे माइक्रोसफ्टले हरेक वर्ष दिने ‘मोस्ट भ्यालुएबल प्रोफेसनल’ (एमभीपी) अवार्डबाट सम्मानित भएका छन् । योसँगै नेपालबाट उनले सबैभन्दा बढी ८ पटकसम्म यो सम्मान पाएका छन् ।
माइक्रोसफ्टका विभिन्न प्रविधिमा काम गरी समुदायलाई लाभ पुर्याउने व्यक्तिलाई माइक्रोसफ्टले यस्तो सम्मान दिने गर्छ । पाण्डेले डेभलपर टेक्नाेलाेजी विधाअन्तर्गत यस वर्ष पनि एमभीपी २०२१-२०२२ सम्मान पाएका हुन् ।
‘माइक्रोसफ्टका प्रविधिअन्तर्गत समुदायमा आफ्नो ज्ञान र सीपबाट लाभ पुर्याउने व्यक्तिलाई यो सम्मान दिने गरिन्छ । माइक्रोसफ्टले यो सम्मानबाट योगदानकर्तालाई धन्यवाद दिनुका साथै थप प्रोत्साहन गर्ने गर्छ,’ पाण्डेले भने ।
डेभलपरको रूपमा काम गर्दा उनले धेरैपटक इन्टरनेटको माध्यमबाट समस्या खोज्ने र समाधान निकाल्ने गर्थे । तर सन् २००९ मा एक साथीले उनलाई आफूले जानेका कुरा अरुलाई सिकाउन प्रोत्साहित गरे ।
‘यसपछि फेसबुक ग्रुप, लिंक्डइन लगायतका सामाजिक सञ्जालमार्फत् आफूले जानेका कुरा अरुलाई सिकाउन वा अनुभव बाँड्न थालेँ । विस्तारै यी प्लेटफर्म अन्तर्क्रिया गर्ने उचित फाेरमका रूपमा विकास हुँदै आयो,’ उनले भने ।
साथै उनले अन्य माध्यमबाट पनि डेभलपर टेक्नाेलाेजीसम्बन्धी ज्ञान र अनुभव बाँडिरहेका छन् । यसपटक पाण्डेसँगै अन्य ६ नेपालीले माइक्राेसफ्टकाे एमभीपी सम्मान पाएका छन् ।
यसअन्तर्गत बिजनेश एप्लिकेशन विधाअन्तर्गत सुमित बज्राचार्य, डेटा प्लेटफर्म विधाअन्तर्गत अनिल महर्जन र श्री खनाल, माइक्राेसफ्ट अज्याेर विधाअन्तर्गत प्रदिप कंडेल र रवि मण्डल र अफिस एप्स एण्ड सर्भिसेस विधाअन्तर्गत प्रशान्त ढेवाजु रहेका छन् ।