close

दूरसञ्चार सेवाप्रदायकले बुझाएनन् साइबर सुरक्षा अडिट, कारबाहीको तयारीमा प्राधिकरण

टेकपाना टेकपाना

साउन १, २०७८ १६:४३

काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनीहरुले तोकिएको समयमा साइबर सुरक्षा अडिट नबुझाएको पाइएको छ । ‘साइबर सुरक्षा विनियमावली २०७७’ ले तोकेबमोजिम दूरसञ्चार सेवाप्रदायकले वर्षको दुईपटक नियामक निकायलाई अनिवार्य रुपमा सुरक्षा अडिट पेस गर्नुपर्ने प्रावधान राखेको थियो ।

यसअघि साइबर सुरक्षाको विषय संवेदनशील बन्दै गएपछि प्राधिकरणले दूरसञ्चार सेवाप्रदायकलाई लक्षित गर्दै गत वर्ष ‘साइबर सुरक्षा विनियमावली २०७७’ तयार पारेको थियो । विनियमावली अनुसार सेवा प्रदायकले तीन-तीन महिनामा आन्तरिक सुरक्षा अडिट गर्नुपर्ने प्रावधान राखिएको छ । त्यस्तै वर्षको दुईपटक अर्थात् हरेक ६ महिनामा सुरक्षा अडिट प्राधिकरण पेस गर्नुपर्ने उल्लेख छ ।

साथै हरेक वर्षको अन्त्यमा प्राधिकरणले तोकेको सुरक्षा अडिटरमार्फत सुरक्षा अडिट गराई प्रतिवेदन पेस गर्नुपर्नेछ । त्यो हिसाबले यही असार मसान्तसम्म टेलिफोन तथा इन्टरनेट सेवाप्रदायक कम्पनीहरुले साइबर सुरक्षा अडिट बुझाउनुपर्ने हो । तर, उक्त अवधिमा दुई कम्पनीले मात्रै साइबर अडिट बुझाएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार यसरी सुरक्षा अडिट बुझाउने दुई कम्पनीमा इन्टरनेट सेवाप्रदायक मात्रै रहेका छन् । टेलिकम सेवाप्रदायक कम्पनीले हालसम्म साइबर सुरक्षा अडिट बुझाएका छैनन् । प्राधिकरण स्रोतका अनुसार कतिपयले इन्टर्नल अडिट भने बुझाएका छन् । तर, विनियमावलीमा सेवाप्रदायकलाई अनिवार्य रुपमा इन्टर्नल तथा एक्सटर्नल अडिट बुझाउनुपर्ने प्रावधान राखिएको छ ।

त्यो हिसाबले हालसम्म दुवै अडिट नबुझाउने सेवाप्रदायकको हकमा कारबाहीको तयारी भइरहेको प्राधिकरणले जनाएको छ । चाँडै सेवाप्रदायकलाई पत्रमार्फत यस विषयमा जानकारी दिने समेत प्राधिकरण स्रोतले जनाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८१ १२:२९