काठमाडौं । हाल तपाईंले हाइपरटेक्स्ट ट्रान्सफर प्रोटोकल सेक्योर (एचटीटीपीएस) इनेबल गरिएका सुरक्षित वेबसाइट खोल्नुभएको खण्डमा गुगल क्रोमको एड्रेसबारमा ‘लक’ आइकन देखाउने गर्छ ।
तर, अब भने गुगलले उक्त लक आइकन हटाउने तयारी गरेको छ । सन् २०१४ मा कम्पनीले सुरु गरेको यो फिचरले कतिपय अवस्थामा साइटको र्याङ्किङलाई समेत असर गर्ने गरेको छ ।
जुन साइटमा एचटीटीपी मात्रै रहेका छन्, त्यस्ता वेबसाइटको र्याङ्किङसमेत कम हुने गरेको छ । जसले गर्दा सर्च रिजल्टमा पनि त्यस्ता वेबसाइट पछि पर्ने गर्छन् ।
त्यसैले पनि पछिल्लो समय विश्वका ९० प्रतिशत वेबसाइटमा एचटीटीपीएस इनेबल गरिएका छन । एचटीचीपीएस इनेबल भएको साइट सुरक्षित हुने भएकाले पनि यसको प्रयोग बढिरहेको हो । यस्तोमा कम्पनीले अब एचटीटीपीएस इनेबल साइटमा देखिने उक्त लक आइकनलाई भने हटाउने भएको हो ।
तर, त्यसको विकल्पमा प्रयोगकर्तालाई साइट सुरक्षाको विषयमा जानकारी दिने जनाइएको छ । यसको अर्थ अब तपाईं कुनै असुरक्षित साइटमा पुग्नु भएमा गुगलले उक्त वेबसाइट असुरक्षित छ भनी नोटिफिकेशन मार्फत जानकारी दिनेछ । यो फिचर हाल परीक्षणकै क्रममा रहेको उल्लेख गरिएको छ ।
यो फिचर प्रयोगकर्ताले कहिलेबाट प्रयोग गर्न पाउनेछन् भन्ने विषयमा भने हालसम्म कुनै जानकारी उपलब्ध भएको छैन । तर, यो फिचरले प्रयोगकर्तालाई आफूले प्रयोग गरिरहेको वेबसाइट असुरक्षित छ भनी सिधै जानकारी दिँदा उनीहरु सचेत हुने विश्वास कम्पनीको छ ।