काठमाडौं । नेपाल टेलिकमले सीडीएमए छोडेर जीएसएम सेवा प्रयोग गर्न चाहने ग्राहकका लागि आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले छ महिनासम्म निःशुल्क रुपमा कल, एसएमएस र डेटा प्राप्त हुने गरी ‘सीडीएमए-जीएसएम फोरजी माइग्रेसन अफर’ ल्याएको हो ।’
टेलिकमले प्रिपेड सीडीएमए भएका प्रयोगकर्तालाई प्रिपेड जीएसएम फोरजी सिम र पोस्टपेड सीडीएमए भएकालाई पोस्टपेड जीएसएम फोरजी सिम निःशुल्क रुपमा उपलब्ध गराउनेछ । जसअनुसार प्रिपेड ग्राहकले निःशुल्क सिमसँगै छ महिनासम्म मासिक रुपमा ३०० मिनेट कल, ३०० एसएमएस र चार जीबी डेटा पाउनेछन् ।
यसका साथै पुरानो नम्बरमा रहेको ब्यालेन्स र भ्यालिडिटी नयाँ नम्बरमा स्वतः ट्रान्सफर गरिदिने सुविधा समेत कम्पनीले ल्याएको छ । त्यस्तै पोस्टपेड तर्फका ग्राहकलाई समेत कम्पनीले निःशुल्क सिमकार्डसँगै छ महिनासम्म मासिक ४०० मिनेट कल (टेलिकम नेटवर्कभित्र), ५० मिनेट कल (अन्य नेटवर्कका लागि), २०० एसएमएस र छ जीबी डेटा निःशुल्क रुपमा दिनेछ ।
साथै यस्तो नम्बरमा आगामी पुससम्म रेन्टल चार्ज समेत नलाग्ने टेलिकमले जनाएको छ । पुरानो नम्बरमा भएको बिल, डिपोजिट र एड्भान्स नयाँ नम्बरमा स्वतः ट्रान्सफर हुने बताइएको छ ।
सीडीएमए नम्बर भएका ग्राहकले सिमकार्ड सहित नजिकैको टेलिकम कार्यालयमा गएर जीएसएममा माइग्रेट गरी यो अफरको फाइदा लिन सक्नेछन् । टेलिकमले सन् २०२२ सम्म आफ्नो सीडीएमए सेवा बन्द गर्ने लक्ष्य राखेको छ ।
सोही अनुरूप कम्पनीले सीडीएमएमा रहेका ग्राहकलाई जीएसएम फोरजीमा स्थानान्तरण गर्न यस्तो अफर ल्याएको हो ।