close

एआईको अर्को सफलता, मानिसले भन्दा राम्रो फिशिङ ईमेल लेख्न सक्ने

टेकपाना टेकपाना

साउन २५, २०७८ १८:५८

एआईको अर्को सफलता, मानिसले भन्दा राम्रो फिशिङ ईमेल लेख्न सक्ने

काठमाडौं । नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ अथवा आर्टिफिसियल इन्टलिजेन्सले विभिन्न क्षेत्रमा अप्रत्याशित रुपमा काम गरिरहेको छ ।

यो पटक भने फिशिङ ईमेलमा एआईले अप्रत्याशित काम गरेर देखाएको छ । अनुसन्धानकर्ताहरूले फिशिङ अभियानका लागि ईमेलहरू तयार गर्न डिप लर्निङ ल्याङ्ग्वेज प्रयोग गर्न सकिने तथ्य पत्ता लगाएका छन् ।

स्क्यामरहरूले मसिन लर्निङ एल्गोरिदमलाई फिशिङ म्यासेज लेख्नका लागि तयार गर्न सक्छ वा सक्दैन भन्ने विषयमा लामो समयदेखि अनुसन्धानकर्मीबीच बहस चलिरहेको थियो ।

गत हप्ता अमेरिकाको लास भेगसमा आयोजना भएको ‘ब्ल्याक ह्याट एण्ड डेफकन सेक्युरिटी कन्फरेन्स’ मा सिंगापुर सरकारका प्राविधिक एजेन्सीले एउटा प्रस्तुति देखाएको थियो, जहाँ करिब २०० जनालाई उनीहरूले आफैंले बनाएको फिशिङ ईमेल र एआईले तयार गरेको फिशिङ मेल पठाइएको थियो ।

उक्त म्यासेजमा केही लिङ्कहरू अट्याच गरिएको थियो, जुन मालिसियिस त थिएन । त्यसमा क्लिक गरेपछि सोको सूचना अनुसन्धानकर्तासम्म पुगिने गरी तयार गरिएको थियो ।

अचम्मको कुरा के थियो भने म्यासेज प्राप्त गर्ने व्यक्तिमध्ये धेरै व्यक्तिले पठाएको लिङ्कमा भन्दा एआईले पठाएको लिङ्कमा क्लिक गरेका थिए ।

एजेन्सीका अनुसार एआईलाई यसका लागि तालिम दिन सुरुमा केही विज्ञताको आवश्यक पर्छ, जसका लागि अर्बौं रुपैयाँ खर्च हुने भए पनि एकपटक यसलाई ‘एआई याज अ सर्भिस’ को रुपमा तयार गरिसकेपछि भने यसले थोरै लागतमा धेरै काम गर्नेछ ।

यसका लागि कुनै कोडिङको पनि आवश्यकता पर्दैन । एकपटक मसिनमा डेटा इन्पुट भइसकेपछि आफैं यसले काम सुरु गर्नेछ ।

सानो सङ्ख्यामा र आफैंले चिनेजानेका व्यक्तिबीच परीक्षण गरिएको हुँदा यो अनुसन्धानको पहिलो चरण मात्र भएको एजेन्सीले बताएको छ ।

एआईले फिशिङ र स्पेयर फिशिङमा कसरी मद्दत गर्नसक्छ भन्ने विषयमा थप अनुसन्धान भइरहेको एजेन्सीले जनाएको छ । यसै पनि मानव अस्तित्वमा ओपन एआईको विकासलाई लिएर धेरै प्रश्न उठिरहेका छन् ।

झन् यस्ता साइबर अपराधहरूमा पनि एआई प्रयोग भएमा समाजमा पर्ने असरलाई न्यूनीकरण गर्नको लागि यससम्बन्धी अध्ययन अनुसन्धान भइरहेको बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३