close

पासपोर्ट लिन राति २ बजेदेखि लाइन बस्नु‍परेकोमा मैले सचिवहरूलाई सोधेको छुः प्रधानमन्त्री

टेकपाना टेकपाना

पुस २६, २०७९ १५:१३

पासपोर्ट लिन राति २ बजेदेखि लाइन बस्नु‍परेकोमा मैले सचिवहरूलाई सोधेको छुः प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले जनताले राहदानीका लागि बिहान २ बजेदेखि लाइनमा बस्नु परेको भन्दै सरकारका सचिवहरूलाई प्रश्न गरेको बताएका छन् । मङ्गलबार बसेको सङ्घीय संसद्‌को बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो अवस्थामा नागरिकले सरकारमाथि कसरी भरोसा गर्ने भनेर आफूले सचिवहरूलाई प्रश्न गरेको जानकारी गराएका हुन् ।  

मङ्गलबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री दाहालले विभिन्न सरकारी निकायमा देखिएका बेथिति र ढिलासुस्ती किन भइरहेका छन्, त्यसलाई प्रविधिको प्रयोग गरेर कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेको बताए ।

"यसबीचमा राहदानी लिन बिहान २ बजेदेखि लाइनमा बस्नु परेपछि नागरिकले कसरी राज्यमाथि भरोसा गर्छ," उनले भने, "अहिलेकै गतिमा राष्ट्रिय परिचय पत्र वितरणको काम हुने हो भने कति दशकमा तीन करोड नेपालीको हातमा परिचयपत्र पुग्छ ? सवारी चालक अनुमतिपत्र लिन पनि वर्षौँ कुर्नुपर्ने कारण के हो ?"

"प्रविधिको यति धेरै विकास भइसक्दा पनि सरकारी अस्पतालमा नाम दर्ता गर्न समेत घण्टौँ किन कुर्नु पर्छ ? अस्पताल प्रयोगशालाका परीक्षण उपकरण किन महिनौँसम्म बन्दैनन् ? अनुदानका सामग्री स्टोरमा किन थन्किने गरेका छन् ? मैले सचिव ज्युहरूलाई सोधिसकेको छु ।" 

यसबाट विद्यमान समस्याको समाधान खोजेर ढिलासुस्ती सुधार गर्ने प्रतिबद्धता समेत प्रधानमन्त्रीले व्यक्त गरेका छन् ।  

 

पछिल्लो अध्यावधिक: पुस २६, २०७९ १५:१३