close

स्याङ्जामा अब नागरिकताको सिफारिस अनलाइनबाटै लिन सकिने

टेकपाना टेकपाना

साउन ६, २०८१ १४:५

स्याङ्जामा अब नागरिकताको सिफारिस अनलाइनबाटै लिन सकिने

काठमाडौं । स्याङ्जामा अब नागरिकताको सिफारिस अनलाइनबाटै लिन सकिने भएको छ । यस प्रणालीले प्रिन्ट गरिएको अनुसूची सिफारिसलाई विस्थापन गर्दै अनलाइन माध्यमबाट नागरिकताको सिफारिस पठाउने सुविधा प्रदान गरेको छ ।

स्याङ्जा यो सेवा सुरु गर्ने चौथो जिल्ला बनेको छ । यसअघि कैलाली, पूर्वी नवलपरासी र पश्चिम नवलपरासीमा यो सेवा लागु भइसकेको छ ।

यससँगै जिल्लावासीले जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन जाँदा आफ्नो स्थानीय तहबाटै सिफारिस प्राप्त गर्न सक्नेछन् । यो सेवा गृह मन्त्रालय अन्तर्गतको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीसीआईएमएस) मार्फत प्रदान गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी दीपक पौडेलका अनुसार यो प्रणाली सञ्चालन गर्न सबै स्थानीय तहका जनप्रतिनिधि र सचिवहरूलाई तालिम दिइएको थियो सेवाग्राहीको विवरण प्रणालीमा प्रविष्ट गरेपछि सिधै सिफारिस तयार हुने उनले बताए ।

प्रिन्ट गरिएको सिफारिसमा वडाध्यक्षको सही र छाप लगाएर सीसीआईएमएसमा अपलोड गरिनेछ । यसपछि सेवाग्राहीले आवेदन नम्बर प्राप्त गर्नेछन् ।

उक्त नम्बरको आधारमा जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन सहज हुनेछ । यो प्रणालीले नागरिकता बनाउने प्रक्रियालाई सहज, सरल र छरितो बनाउनुका साथै झुटा र किर्ते विवरण भरेर नागरिकता लिने कार्यसमेत अन्त्य गर्ने विश्वास गरिएको छ ।

पछिल्लो अध्यावधिक: साउन ६, २०८१ १४:५