close

ट्रायलमा ७० अंक ल्याए पास हुने व्यवस्था फागुन २ देखि

टेकपाना टेकपाना

माघ २८, २०७९ १४:३८

ट्रायलमा ७० अंक ल्याए पास हुने व्यवस्था फागुन २ देखि

काठमाडौं । अन्तत: बागमती प्रदेशभित्र सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)का लागि ट्रायलमा ७० अङ्क ल्याए पास हुने व्यवस्था लागू हुने भएको छ । प्रदेश अन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रणाली कार्यान्व्यनका लागि सबै तयारी पूरा भएकाे जानकारी दिएकाे छ ।

"यसअघि पनि हाम्रो तर्फबाट गर्नुपर्ने तयारी हामीले सकेका हौँ । तर पनि विभिन्न प्राविधिक कारणले गर्दा अंकभार प्रणाली लागू गर्न असमर्थ भयौँ," मन्त्रालयका प्रवक्ता हरिहर पोख्रेलले टेकपानासँग भने, "यो पटक भने फरक पर्दैन । फागुन २ गतेबाट बागमति प्रदेशभित्र ट्रायलका लागि अंकभार प्रणाली लागू हुन्छ ।"

फागुन १ गते जनयुद्ध दिवसमा बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेका कारण फागुन २ देखि यो व्यवस्था सुरु हुने उनले बताए । यसका लागि सबै आन्तरिक तयारी सकिएको र मुख्यमन्त्री कार्यालयबाट अनुमतिपत्र पनि प्राप्त भइसकेका कारण यो पटक भने फरक नपर्ने उनको दाबी छ ।

यो प्रणाली लागू भएसँगै परीक्षार्थीले प्रयोगात्मक परीक्षा (ट्रायल)मा कुल १०० मध्ये ७० अंक ल्याउनुपर्नेछ ।

यसअघि लिखित परीक्षामा ५० प्रतिशत ल्याए ट्रायल दिन पाइन्थ्याे भने अब ६० प्रतिशत ल्याउनुपर्ने छ । यो व्यवस्था प्रदेश १, गण्डकी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा लागू भइसकेको छ ।

पछिल्लो अध्यावधिक: माघ २८, २०७९ १४:४५