काठमाडौं । नेपाल टेलिकमले पोस्टपेड मोबाइल सेवामा देखिएको समस्याबारे स्पष्टीकरण दिएको छ । पोस्टपेड सेवाको मासिक बिल प्रशोधन (बिल रन) गरी हिसाब मिलान गर्न केही समय लागेकाले गत बिहीबार बिहान समस्या आएको टेलिकमको भनाइ छ ।
कम्पनीका अनुसार प्रत्येक अंग्रेजी महिनाको १५ तारिखको राति पोस्टपेड सेवाको मासिक बिल प्रशोधन सुरु गरी सोही रातभरमै काम सम्पन्न हुने गरेकोमा यसपटक केही ढिला हुँदा बिहानको समयमा ग्राहकको फोनमा ब्यालेन्स कम हुने, 'वन वे' हुने जस्ता समस्या आएको हाे ।
अहिले भने सम्पूर्ण सेवा नियमित रूपमा सञ्चालनमा रहेको कम्पनीले उल्लेख गरेकाे छ ।
टेलिकमको मोबाइल बिलको जानकारी लिन *४००# डायल गर्न सकिन्छ । यसरी बिल हेर्दा आउने एसएमएसमार्फत विभिन्न जानकारी लिन सकिन्छ ।
सेवा प्रयोग गरेबापत ग्राहकले कम्पनीलाई बुझाउन बाँकी रकमलाई 'ड्यु अमाउन्ट' भनिन्छ । 'अभाइलेबल क्रेडिट' चाहिँ अब ग्राहकले प्रयोग गर्न पाउने रकम हो ।
वेबसाइटसँगै कम्पनीको मोबाइल एपबाट पछिल्लो पाँच दिनको बिलिङ हेर्न सकिने सुविधा दिइएको छ ।
विशेषगरी धेरै रकम खर्च गर्ने ग्राहकहरूले पोस्टपेड सेवा प्रयाेग गर्न रुचाउँछन् । थोरै मात्र रकम खर्च गर्नेहरूले पनि यसको बिलिङ प्रणाली बुझेर विभिन्न सुविधा उपयोग गर्नसक्ने कम्पनीले जनाएको छ ।