close

केही पनि डिलिट नगरी आईफोनमा यसरी खाली गर्नुहोस् स्टोरेज

टेकपाना टेकपाना

फागुन ६, २०७९ १६:१८

केही पनि डिलिट नगरी आईफोनमा यसरी खाली गर्नुहोस् स्टोरेज

काठमाडौं । फोनमा स्टोरेजको समस्या हुनु सामान्य कुरा हो । विभिन्न एप, फोटो, भिडिओ, मेसेज, ईमेल लगायतका डेटाले मोबाइलको स्टोरेज कम भएर आफ्नो डेटा डिलिट गर्नुपर्ने समस्या धेरैले भोग्नुभएकाे छ हाेला ।

तर यदि तपाईँ आईफोन प्रयोगकर्ता हुनुहुन्छ भने यो समस्या समाधान गर्न केही उपाय छन् । आफ्नो फोनमा स्पेस खाली गर्ने सबैभन्दा उत्तम माध्यम भनेको त ठूला, तर काम नलाग्ने फाइलहरू डिलिट गर्नु हो ।

यदि यो उपाय काम लागिरहेको छैन भने तपाईँले आईओएसका केही यस्ता फिचर प्रयोग गर्न सक्नुहुन्छ, जसले कुनै फाइल डिलिट नगर्दा पनि फोनको स्पेस खाली गर्न मद्दत गर्छ ।

आईफोनको फोटो र भिडिओ अप्टिमाइज गर्ने 

माेबाइलमा सबैभन्दा धेरै स्टोरेज फोटो र भिडिओले ओगटिरहेका हुन्छन् । कतिपय अवस्थामा आफ्नो सम्झनाको लागि खिचिएका फोटो, भिडिओहरू डिलिट गर्न मन मान्दैन । यस्तोमा गर्न सकिने एउटा काम भनेको फोटो/भिडिओ अप्टिमाइज गर्ने अथवा फोटो/भिडिओको रेजोलुसन कम गर्ने हाे ।

यसका लागि आफ्नो वास्तविक रेजोलुसनको फोटो/भिडिओलाई एप्पलको आईक्लाउडमा स्टोर गरेर डिभाइसको सामग्रीको साइज घटाउन सकिन्छ । यसका लागि मोबाइलको सेटिङमा गएर 'फोटोज' अप्सनमा क्लिक गर्नुहोस् ।

यसपछि 'अप्टिमाइज आईफोन स्टोरेज' लेखिएको अप्सनको टोगललाई अन गर्नुहोस् । यसका लागि आफ्नो आईक्लाउड फोटोजको सेटिङ भने इनेबल छ कि छैन भनेर ध्यान दिनुपर्छ । यदि इनेबल छैन भने सो अप्सनलाई इनेबल गर्नुहाेस् ।

यदि तपाईँ सबै डेटा आईक्लाउडमा नै राख्न चाहनुहुन्छ, तर आईक्लाउडमा पनि स्पेस छैन भने मासिक एक डलर तिरेर आफ्नो स्टोरेज ५० जीबीसम्म बढाउन सक्नुहुन्छ । 

प्रयोगमा नभएका एप हटाउनुहोस् 

यदि ध्यान दिएर हेर्ने हो भने, मोबाइलमा भएका सबै एप तपाईँले प्रयोग गर्नुहुन्न । धेरैजसो एप त मोबाइलमा छन् भनेर पनि थाहा हुन्न । अथवा कुनै समयमा प्रयोग भएका एप तपाईँले पछि प्रयोग गर्न छोडेको हुनसक्छ ।

यस्ता एपले पनि तपाईँको मोबाइलको स्टोरेज खाइरहेको हुन्छ । त्यसैले प्रयोगमा नभएका यस्ता एप हटाउँदा स्पेस खाली हुन्छ । यसका लागि मोबाइलको सेटिङमा जानुहोस् र 'जेनरल' अप्सनमा क्लिक गर्नुहोस् ।

यसपछि 'आईफोन स्टोरेज'मा ट्याप गर्नुहोस् । यहाँ तपाईँको मोबाइलमा भएका कुन एपले कति स्टोरेज खपत गरेको छ भनेर देखाउँछ । यसपछि प्रयोगमा नभएका एपहरूलाई डिलिट गरिदिनुहोस् । तर मोबाइलमा पहिलेदेखि नै प्रि-इन्स्टल भएका एप भने हटाउन मिल्दैन ।

पछिल्लो अध्यावधिक: फागुन ६, २०७९ १६:४१