काठमाडौं । गुगल म्याप्सका माध्यमबाट वास्तविक समयमा कुन ठाउँमा आगलागी भएको छ र कुन ठाउँमा वायु प्रदूषणको मात्रा कति छ भन्ने कुरा हेर्न सकिन्छ । यो फिचर २०२२ मा सार्वजनिक भएपनि गुगलले संसारभरका डेटा राख्न सकेको छैन ।
गुगलले २०२२ जुन ९ मा अमेरिकाबाट वायु प्रदूषणको डेटा राख्न सुरु गरेको थियो । हालसम्म कति देशको डेटा समावेश गरिएको छ भन्नेबारे कम्पनीले खुलाएको छैन । यद्यपि वायु प्रदूषणको मात्रा छिमेकी राष्ट्र भारतमा देखाउन थालिसकेको छ । नेपालमा पनि यो सेवा चाँडै सार्वजनिक हुने अनुमान छ ।
कसरी हेर्ने आफ्नो क्षेत्रको वायु प्रदूषणको मात्रा ?
गुगल म्याप्समा हालसम्म नेपालको वायु प्रदूषणको मात्रा समावेश गरिएको छैन । यद्यपि उक्त एप प्रयोग गरेर कुन ठाउँमा कति प्रदूषण छ भन्ने हेर्न सकिन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस्ः
- सबैभन्दा पहिले गुगल म्याप्सको एप खोल्नुहोस् ।
- त्यसपछि होमपेजको माथि दायाँपट्टि रहेको लेयरको आइकनमा क्लिक गर्नुहोस् ।
- यति गरेपछि वायु प्रदूषणको डेटा राखेको ठाउँको गुणस्तर हेर्न सकिन्छ ।
यसमा विभिन्न रङले वायु प्रदूषणको अवस्था जनाउँछ, जहाँ गाढा रातोले खतरनाक, रातोले धेरै अस्वस्थ्य, सुन्तला रङले अस्वस्थ, पहिलो रङले संवेदनशील समूहका लागि अस्वस्थ, हरियो रङले मध्यम र गाढा हरियो रङले स्वस्थ वायु भएको सङ्केत गर्छ । यी रङका लागि पनि छुट्टै रेन्ज तयार पारिएको छ ।
आधिकारिक सरकारी डेटाले वायु प्रदूषणको मात्रा उल्लेख गरेको आधारमा गुगल म्याप्समा यस्तो डेटा देखिन्छ । जहाँ वायुमा भएको कार्बन मोनोअक्ससाइड, सल्फर डाइअक्साइड, नाइट्रोजन डाइअक्साइड आदिका आधारमा प्रदूषणको अवस्था पहिचान हुने कम्पनीले उल्लेख गरेको छ ।
त्यस्तै वायु प्रदूषणको अवस्था थाहा पाएजस्तै कुन ठाउँमा आगलागी भएको छ भन्ने पनि सहजै थाहा पाउन सकिन्छ । आगलागी भएका ठाउँको बारेमा जान्न तलको प्रक्रिया अपनाउनुहोस् ।
- सबैभन्दा पहिले गुगल म्याप्स खोल्नुहोस् ।
- त्यसपछि होमपेजको माथि दायाँपट्टि देखाइएको लेयरको अप्सनमा जानुहोस् ।
- अनि तल रहेको 'वायल्ड फायर' अप्सनमा जानुहोस् ।
- त्यसपछि तपाईँले जुम आउट गरेर संसारको कुन कुन ठाउँको वनमा आगो लागेको छ भन्ने थाहा पाउन सक्नुहुन्छ ।