काठमाडौं । पारदर्शी फोनका रूपमा चर्चित नथिङजस्तै डिजाइन भएको अर्काे एन्ड्राेइड फोन सार्वजनिक भएकाे छ । मोबाइल वर्ल्ड कंग्रेस २०२३ को अवसर पारी चिनियाँ माेबाइल निर्माता युनिहर्जले 'लुना' फाेन सार्वजनिक गरेको हाे ।
लुना फोनको ब्याकसाइड अर्थात् पछाडिपट्टिकाे डिजाइन नथिङकै जस्ताे देखिन्छ । नथिङ फोनमा कल आउँदा वा कुनै नोटिफिकेसन आउँदा लाइट बल्छ । त्यस्तै फोन चार्ज भइरहेको पनि फोनको पछाडिपट्टिको लाइट हेरेरै थाहा हुन्छ ।
यही विशेषता समेटेर युनिहर्जले पनि नोटिफिकेसन आउँदा र म्युजिक प्ले गर्दा लाइट बल्ने फिचरसहितकाे फोन ल्याएको हो । तर, चार्ज हुँदा भने युनिहर्जको फोनमा लाइट बल्दैन । यो फोन ह्वाइट लाइट र कलरफुल लाइट गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ ।
मिडियाटेक हेलोयो जी९९ प्रोसेसरद्वारा सञ्चालित फोन ८ जीबी र्याम र २५६ जीबी इन्टर्नल स्टाेरेजमा उपलब्ध छ । ५००० एमएएच क्षमताको ब्याट्री भएको यस फोनले १८ वाटको चार्जिङ सपोर्ट गर्ने बताइएको छ ।
यसमा आईफोन १४ प्राेकाे जस्तै क्यामेरा डिजाइन देख्न सकिन्छ, जसकाे मुख्य सेन्सर १०८ मेगापिक्सेलको रहेको छ । साथै यसमा ३.५ एमएम हेडफोन ज्याक रहेको छ ।
उक्त फाेन मोबाइल वर्ल्ड कंग्रेसमा देखाउन राखिए पनि कम्पनीले थप विवरण खुलाएको छैन ।
फोन कहिले सार्वजनिक हुन्छ भन्ने जानकारी पनि बाहिरिएको छैन । यद्यपि मार्च महिनाभित्र सार्वजनिक हुने अपेक्षा गरिएको छ । विभिन्न विश्लेषकले यस फोनको मूल्य ३०० डलर (करिब ४० हजार रुपैयाँ) भन्दा कम हुने अनुमान गरेका छन् ।