close

एप्पलले ल्यायो पहेँलो आईफोन

टेकपाना टेकपाना

फागुन २४, २०७९ १४:१३

एप्पलले ल्यायो पहेँलो आईफोन

काठमाडौं । एप्पलले पहेँलो रंगका आईफोन सार्वजनिक गरेको छ । कम्पनीले मंगलबार आईफोन १४ र आईफोन १४ प्लसका लागि नयाँ कलरको फोन बजारमा ल्याएको हो ।

कम्पनीका अनुसार शुक्रबारदेखि अमेरिका, बेलायत र क्यानडा लगायत ६० देशका ग्राहकले नयाँ भर्सनको आईफोन १४ प्रि-अर्डर गर्न सकिनेछ ।

पहेँलो रंगमा उपलब्ध हुने आईफोन १४ को सुरुवाती मूल्य ७९९ अमेरिकी डलर (करिब एक लाख पाँच हजार रुपैयाँ) तोकिएको छ भने आईफोन १४ प्लसको मूल्य ८९९ अमेरिकी डलर (करिब एक लाख १७ हजार रुपैयाँ) रहेको छ ।

पहेँलो भर्सको आईफोन भौतिक रूपमा मार्च १४ बाट खरिद गर्न सकिने कम्पनीको भनाइ छ ।

कम्पनीले बजारमा ल्याएको नयाँ भर्सन पनि फिचरका आधारमा पुरानै भर्सनको जस्तै छ । जसमा ए१५ बायोनिक चिप, इमर्जेन्सी एसओएस भाया स्याटलाइट र क्र्याश डिटेक्सन जस्ता महत्त्वपूर्ण फिचर छन् ।

६.१ इन्चको आईफोन १४ र ६.७ इन्चको आईफोन १४ प्लसमा वाटर एन्ड डस्ट रेसिस्टेन्स सुविधा छ ।

कम्पनीले पहेँलो भर्सनको आईफोन ल्याएको यो पहिलो पटक भने होइन । यसअघि पनि कम्पनीले सन् २०१३ मा आईफोन फाइभ सी, सन् २०१८ मा आईफोन एक्सआर र सन् २०१९ मा आईफोन ११ कम्पनीले पहेँलो रङमा उपलब्ध गराएको थियो ।

कम्पनीले आईफोन १४ लाइनअप सार्वजनिक गरेको करिब छ महिनामा नयाँ भर्सन सार्वजनिक गर्नुका पछाडि आईफोनकाे बिक्री बढाउनु हो । आफ्नो फोन बिक्री गर्नका लागि कम्पनीले यस्ता रणनीति ल्याइरहेको हुन्छ ।

पछिल्लो अध्यावधिक: फागुन २४, २०७९ १४:४८