close

कस्तो होला सिक्सजी ?

टेकपाना टेकपाना

फागुन २७, २०७९ ७:१२

कस्तो होला सिक्सजी ?

काठमाडौं । गत फेब्रुअरी २७ देखि मार्च २ सम्म बार्सिलोनामा भएको मोबाइल वर्ल्ड कङ्ग्रेस (एमडब्लूसी) मा धेरै आविष्कारका चर्चा भए । यस अवसरमा मोबाइल नेटवर्क कनेक्टिभिटिको पछिल्लो पुस्ता फाइभजी प्रविधिको विशेष छलफल भयो । साथै एमडब्लूसीमा सिक्सजी प्रविधि पनि बहसको विषय बन्यो ।

यसले के काम कसरी गर्छ भन्नेबारे धेरै अनिश्चितता छ । तैपनि दूरसञ्चार क्षेत्रका सरोकारवालाहरूले सिक्सजीबाट डिजिटल अनुभवमा नयाँ क्रान्ति आउने दाबी गरेका छन् । 

यसैबीच सीएनबीसीका पत्रकार अर्जुन खर्पलले विज्ञहरूसँगको छलफलबाट सिक्सजी अबको सात वर्षभित्र अर्थात् सन् २०२३० सम्ममा सार्वजनिक हुनसक्ने निष्कर्ष निकालेका छन् । यसअघि पनि विभिन्न स्राेतले सन् २०३० पछि माेबाइल नेटवर्क कनेक्टिभिटीमा नयाँ पुस्ता भित्रिने भविष्यवाणी गरेका थिए ।

थ्रीजी २००० को दशकमा आएको थियो भने फोरजी २०१० को दशकमा र फाइभजी २०२० को दशकमा आएको थियो । अहिलेका खोज र अनुसन्धानलाई विश्लेषण गर्दा सन् २०३० पछि सिक्सजी युग सुरु हुनसक्ने आँकलन गर्नु स्वाभाविकै हो ।

वायरलेस सिक्सजी इन्टरनेटले तुलनात्मक रूपमा फाइभजीभन्दा तीव्र स्पिडको डेटा, कम लेटेन्सी, र अधिक भरपर्दो कनेक्सन उपलब्ध गराउने अपेक्षा गरिएको छ । 

सिक्सजीको स्पीड कति हुन्छ भन्ने कुरा हालसम्म कसैले अनुमान लगाउन सकेको छैन । सिक्सजीको फाइनल स्ट्याण्डर्ड इन्टरनेशनल टेलिकम्युनिकेसन युनियन (आईटीयूले निर्धारण गर्नेछ ।

सिक्सजीका लागि अत्याधुनिक चिपसेट र नयाँ रेडियो फ्रिक्वेन्सी स्पेक्ट्रमको आवश्यकता पर्छ । त्यसबाहेक पनि थुप्रै प्राविधिक अवरोधहरू पार गर्न बाँकी छ । यस्ता अवरोधका बाबजुद पनि अनुसन्धानकर्ता सिक्सजीको सम्भाव्यताका बारेमा आशावादी देखिएका छन् । केहीले स्वचालित सवारी साधनदेखि रिमोट सर्जरीमा सिक्सजीले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेका छन् । 

केही अनुसन्धानपत्रमा सिक्सजीले प्रति सेकेण्ड १ टीबीको स्पीड दिने दाबी गरिएकाे छ । फाइभजीबाट एउटा फिल्म केही सेकेण्डमा नै डाउनलोड हुन्छ भने सिक्सजीको स्पिडमा १४२ घण्टाको फिल्म मात्र एक सेकेण्डमा डाउनलोड हुनेछ ।  

एमडब्लूसी २०२३ मा बाेल्ने क्रममा टेलिफोनिका रिसर्चका दूरसञ्चार अनुसन्धाता निकोलस कोर्टेलिसले सिक्सजीले नेटवर्क क्यापासिटी ५०० गुणाले बढाउने दाबी गरेका छन् ।

चीन र दक्षिण कोरिया सिक्सजी अनुसन्धानमा बढी केन्द्रित छन् । यसैबीच अमेरिकाको सङ्घीय सरकारले सिक्सजी प्रविधिको विकासलाई तीव्रता दिने लक्ष्यका साथ 'एडभान्स्ड वायरलेस रिसर्च इनिसिएटिभ'को अनुसन्धान सुरु गरेको छ ।

सिक्सजीका तमाम सकारात्मक पक्षका बाबजुद पनि केही विशेषज्ञले यो प्रविधि व्यवसायिक रूपमा अगाडि बढ्न धेरै वर्ष लाग्ने अनुमान गरेका छन् । यसै बीच दूरसञ्चार कम्पनीहरू आफ्नो फाइभजी नेटवर्क विस्तार गर्न र उपभोक्ताहरूका लागि कभरेज र गति सुधार गर्न केन्द्रित छन् ।

गत साता बार्सिलोनामा सम्पन्न वर्ल्ड मोबाइल कंग्रेस २०२३ मा पनि सिक्सजीबारे बहस भएको थियो । जसमा विश्वका शीर्ष दूरसञ्चार कम्पनीले आफ्नो राय राखेका थिए ।

किन आवश्यक छ सिक्सजी ?

प्रविधिको विकाससँगै प्रयोगकर्तालाई तीव्र गतिको इन्टरनेट स्पीड आवश्यक पर्छ । सिक्सजीमा तुलनात्मक रूपमा फाइभजीभन्दा तीव्र स्पीड, कम लेटेन्सी र उच्च क्षमता हुन्छ । मोबाइल होलोग्राम, एक्सटेन्डेड रियालिटी (एक्सआर) जस्ता नयाँ सेवाका लागि सिक्सजीले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

त्यसबाहेक पनि साइबर सुरक्षालाई बढावा दिन र आर्टिफिसियल इन्टेलिजेन्स जस्ता प्रविधिलाई गति दिन पनि सिक्सजी प्रविधिको धेरै नै जरुरत पर्छ ।

सन् २०३० मा सिक्सजी

नोकियाका प्रमुख कार्यकारी अधिकृत पेक्का लन्डमार्कले गत वर्ष सन् २०३० सम्म सिक्सजी सार्वजनिक हुनसक्ने अनुमान गरेका थिए ।

इन्टेलको नेटवर्क एन्ड एज ग्रुपका उपसभापति निक म्याकेवनले पनि सबै मापदण्डहरू चाँडै निर्धारण गर्न सकिएको खण्डमा सन् २०३० सम्म सिक्सजी सार्वजनिक हुनसक्ने अपेक्षा गरेका छन् ।

बेलायतको मोबाइल सेवा प्रदायक बीटी ग्रुपका प्रमुख प्राविधिक अधिकृतले सन् २०३२ मा सिक्सजी सार्वजनिक हुनेसक्ने अनुमान गरेका छन् । त्यस्तै स्ट्राटेजी एनालिटिक्सका प्रमुख निर्देशक निल मस्टोनले सन् २०२९ सम्म सिक्सजी सपोर्ट गर्ने फोन सार्वजनिक हुनसक्ने बताएका छन् ।

यद्यपि सिक्सजी प्रविधि सार्वजनिक गर्नुअघि त्यसबारे बृहत् खोजको आवश्यकता पर्ने विज्ञहरूको सुझाव छ । 

पछिल्लो अध्यावधिक: फागुन २७, २०७९ ७:२४