close

इन्फिनिक्सले ल्यायो २६० वाटको फास्ट चार्जर, ८ मिनेटमै मोबाइल फुल चार्ज हुने

टेकपाना टेकपाना

फागुन २७, २०७९ ९:५९

इन्फिनिक्सले ल्यायो २६० वाटको फास्ट चार्जर, ८ मिनेटमै मोबाइल फुल चार्ज हुने

काठमाडौं । मोबाइल ब्रान्ड इन्फिनिक्सले तीव्र चार्जिङ क्षमता भएको प्रविधि ल्याएकाे छ । कम्पनीले हालै २६० वाटको वायर्ड र ११० वाटको वायरलेस चार्जर प्रस्तुत गरेको हो ।

यो नयाँ प्रविधिबाट मोबाइलको ब्याट्री १ मिनेटमै शुन्यदेखि २५ प्रतिशतसम्म र ८ मिनेटमै १०० प्रतिशत चार्ज भएको कम्पनीले दाबी गरेको छ । त्यस्तै वायरलेस चार्जिङतर्फ १६ मिनेटमै १०० प्रतिशत फुल चार्ज भएको कम्पनीको दाबी छ ।

यसका लागि सिंगल १२सी ब्याट्री र ४-पम्प सर्किट डिजाइन प्रयोग गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ, जसले कति पावर आवश्यक छ भनेर स्वतः निर्धारण गरी समायोजन गर्न सक्छ ।

कम्पनीले ४४०० एमएएच ब्याट्री भएको स्मार्टफोनमा यो चार्जिङ प्रविधिको परीक्षण गरेको जनाएको छ । यो प्रविधिले रिभर्स चार्जिङ, बाइपास चार्जिङ र मल्टी प्रोटोकल चार्जिङ समेत सपोर्ट गर्ने बताइएको छ । कम्पनीले आफ्नो नयाँ फोन इन्फिनिक्स नोटमा यो प्रविधि उपलब्ध गराउने उल्लेख गरेको छ ।
 

पछिल्लो अध्यावधिक: फागुन २७, २०७९ १३:३