close

महानगरपालिकाले नै किन फाल्यो टेलिकम कार्यालय अगाडि ७ गाडी फोहोर ?

टेकपाना टेकपाना

चैत २१, २०७९ १८:११

महानगरपालिकाले नै किन फाल्यो टेलिकम कार्यालय अगाडि ७ गाडी फोहोर ?

वीरगञ्ज । नेपाल टेलिकमको मधेश प्रदेश कार्यालय परिसरमा वीरगञ्ज महानगरपालिकाले फोहोर फालिदिएको छ ।

मंगलबार बिहान सवा ९ बजे प्रादेशिक निर्देशनालय, मधेश प्रदेशको कार्यालय परिसरमा महानगरले ५-७ ट्र्याक्टर फोहोर फालेको हो ।

महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले महानगरकाे बाइपास सडकखण्डमा टेलिकमले केबल भूमिगत गरेपछि सडक मर्मत नगरेको भन्दै दबाबस्वरुप फोहोर फालिएको बताए ।

''हामीले पटक-पटक टेलिकम कम्पनीलाई आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेका थियौँ । पछिल्लो पटक फागुन मसान्तसम्म मर्मतको काम सक्ने भनियो, तर एक महिना बित्न लाग्दा पनि काम नभएपछि दबाबस्वरुप फोहोर फाल्न बाध्य भएका हौँ,'' उनले भने । 

टेलिकम प्रशासन पुनः वार्तामा बस्न राजी भएपछि महानगरले फोहोर उठाएको उनले जानकारी दिए ।

यसैबीच आफ्नो प्रादेशिक निर्देशनालयमा फोहोर फालेको घटनाप्रति टेलिकमले खेद व्यक्त गरेको छ । एक विज्ञप्ति जारी गर्दै कम्पनीले यस घटनाका कारण निर्देशनालयको वातावरण दुर्गन्धित भई स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिनुका साथै कार्यालयको काम गर्ने वातावरणमा समेत नकारात्मक असर पर्न गएकाे उल्लेख गरेकाे छ ।

फोटो- पवन यादव

पछिल्लो अध्यावधिक: चैत २१, २०७९ १९:५