close

टिकटकलाई दुई अर्ब भन्दा बढी जरिवाना

टेकपाना टेकपाना

चैत २२, २०७९ ११:५

टिकटकलाई दुई अर्ब भन्दा बढी जरिवाना

काठमाडौं । बालबालिकाको गोपनीयता कायम गर्न नसकेको भन्दै टिकटकलाई बेलायत सरकारले दुई अर्बभन्दा बढी जरिवाना गरेको छ ।

सन् २०२० मा १३ वर्षमुनिका करिब १४ लाख बढी बालबालिकालाई प्लेटफर्म प्रयोगका लागि अनुमति प्रदान गरेको भन्दै बेलायत सरकारले टिकटकलाई एक करोड २७ लाख पाउन्ड अर्थात् दुई अर्ब आठ करोड रुपैयाँ बढी जरिवाना लगाएकाे हाे ।

बेलायतको सूचना आयुक्तको कार्यालयले गरेको अध्ययनअनुसार टिकटकले अभिभावकको अनुमतिबिनै बालबालिकाको डेटा प्रयोगमा ल्याएको पाइएकाे थियाे । यसैका आधारमा कार्यालयले केही समयअघि टिकटकविरुद्ध मुद्दा दायर गरेको थियो ।

आयुक्तको कार्यालयले टिकटकमा उमेर बढाएर राखेकै भरमा बालबालिकाले पहुँच बनाउन सकिने बताएको छ । त्यसरी बालबालिकालाई प्लेटर्फममा पहुँच दिएर डेटा संकलन गरी उक्त डेटाको आधारमा बालबालिकालाई हानिकारक र अनुपयुक्त सामग्री हेर्न लगाइरहेको दावी अध्ययनको छ ।

‘हाम्रा बालबालिकालाई भाैतिक दुनियाँसरह डिजिटल दुनियाँमा पनि सुरक्षित राख्न चाहन्छौं,’ आयुक्त जोन इडवार्डले भनेका छन, ‘त्यसका लागि हाम्रा कानूनी व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनु एकमात्रै विकल्प हो । सोही अनुरुप हामीले यो कारबाही अघि बढाएका हौं ।’

तर, टिकटकले भने १३ वर्षमुनिका बालबालिकालाई आफ्नो प्लेटफर्ममा पहुँच बनाउन नदिन ठूलो लगानी गरिरहेको बताउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: चैत २३, २०७९ ११:५७