close

त्रिविको मास्टर्स इन साइबर सेक्युरिटी: कोर्ष बन्यो, भेटिएनन् पढाउने विज्ञ जनशक्ति

टेकपाना टेकपाना

चैत २६, २०७९ १७:५७

त्रिविको मास्टर्स इन साइबर सेक्युरिटी: कोर्ष बन्यो, भेटिएनन् पढाउने विज्ञ जनशक्ति

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चाँडै स्नातकोत्तर तहमा ‘मास्टर इन साइबर सेक्युरिटी’ कोर्षको अध्यापन गराउने भएको छ । हाल पाठ्यक्रम निर्माणको काम सकाएर विश्वविद्यालयले आवश्यक तयारी पूरा गरेको हो । 

विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत रहने यो कोर्ष दुई वर्षको हुनेछ । यद्यपि कुन शैक्षिक सत्रबाट अध्यापन सुरु हुन्छ भन्ने निश्चित नभएको संस्थानका डीन प्राडा विनिल अर्यालले बताए । 

उनका अनुसार कोर्ष डिजाइनको तयारी पूरा भएपनि ‘फ्याकल्टी’ (कोर्ष सञ्चालनका लागि आवश्यक भौतिक तथा अभौतिक क्षमता) अभावका कारण कोर्ष सञ्चालनमा ढिलाई भएको हो । 

“कोर्षको पाठ्यक्रम तयार छ । तर यो वर्ष सञ्चालन गर्न सकिएन,” उनी भन्छन्, “यहाँ अध्यापन गराउने साइबर सेक्युरिटी विज्ञको अभाव छ । यसको तयारी पूरा भएपछि विश्वविद्यालयले कोर्ष सञ्चालन गर्छ । अहिले अध्यापन गराउने साइबर सेक्युरिटी विज्ञ पाउनु चुनौतीको विषय रहेको छ ।” 

यस्ता समस्याको चाँडै हल गरेर सम्भवत: अर्को शैक्षिक सत्रबाट अध्यापन थाल्ने उनले सुनाए । विश्वविद्यालयले यसै वर्ष नयाँ कोर्ष ‘मास्टर इन इन्फरमेसन टेक्नोलोजी’ समेत सञ्चालनमा ल्याएको छ । 

यसरी नै भविष्यमा आईटीका थप कोर्षहरू ल्याउने योजना समेत रहेको डीन अर्यालले बताए । हाल नेपालमा इस्लिङ्टन कलेजले मात्रै स्नातकोत्तर तहमा एमएससी आईटी एन्ड अप्लाइड सेक्युरिटी कोर्ष सञ्चालन गरिरहेको छ । 

यद्यपि स्नातक तहमा भने इस्लिङ्टन कलेज बाहेक सफ्टवेरिका कलेज आईटी एण्ड ईकमर्स, द ब्रिटिस कलेज, टेक्सास कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी,  फोर्ब्स कलेज, केएफए बिजनेस कलेज लगायतले अध्यापन गराइरहेका छन् । 

 

पछिल्लो अध्यावधिक: चैत २६, २०७९ १८:६